Wednesday, January 2, 2013

नगरपालिकाको पार्किङ ठेक्का रद्द

मजदुरको पेटमा लात मारेको आरोप
विधुर ढकाल

नारायणगढ । सडकलाई नै पार्किङ बनाएर खटिएका कर्मारीको मनलाग्दो व्यवहारका कारण स्थानीय व्यवसायी तथा राजनीतिक दलहरुको चर्काे विरोध र दबाबपछि भरतपुर नगरपालिकाले नारायणगढ तथा भरतपुरमा सुरू गरेको सशुल्क पार्किङलाई केही समयका लागि स्थगित गर्ने निर्णय गर्दै ठेक्का रद्द गरेको छ ।

नगरपालिकाले ठेक्का दिएर यातायात पार्किङलाई व्यवस्थित गर्ने भन्दै गत पुस १ गतेबाट सशुल्क पार्किङ थालेको थियो । पार्किङका कारण नारायणगढ क्षेत्रका व्यवसायलाई असर परेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए भने सेवाग्राही पनि पार्किङ शुल्क उठाउनेबाट मनोमानी भएको गुनासो आएको थियो ।


नगरपालिकाले सडकलाई नै पार्किङस्थलमा परिणत गर्दै शुल्क उठाउने जिम्मा ठेकेदारहरुलाई दिएको भन्दै नगरपालिकालाई राजनीतिक दलहरुले ठेक्का रद्द गर्न दबाब दिएका थिए । सोही दबाबका कारण ठेक्का रद्द गरिएको भरतपुर नगरपालिकाका कर अधिकृत लीलाराज खरेलले जानकारी दिनुभयो ।

नगरभित्रका तीनै पार्किङ्क्षेत्रको ठेक्का रद्द

नगरपालिकाको मंगलबार बसेको बोर्ड बैठकले पार्किङ व्यवस्थित हुन नसकेको भन्दै नगरपालिकाले नगर भित्र दिइएको तीनै क्षेत्रको ठेक्का रद्द गरेको हो । नगरपालिकाले गत असोजमा नारायणगढको पुलचोकदेखि लायन्सचोकमाथिको नहरसम्म, सहिदचोकदेखि लुम्बिनी बैंक मिलनरोड र चौबीसकोठी हस्पिटल लाइनरोडमा पार्किङ व्यवस्थापनका लागि टेण्डरमार्फत ठेक्का दिएको थियो ।

‘टेण्डरमार्फत ठेक्का दिएका थियांै, नगरपालिकालाई पनि केही आम्दानी आउँथ्यो, पार्किङ पनि व्यवस्थित बन्दै थियो’, कर अधिकृत खरेलले भन्नुभयो, ‘चर्काे दबाब आएपछि रद्द गर्नुप¥यो ।’ फेरि पार्किङलाई व्यवस्थित गरेर स्थान छुट्टाएर चालु गरिनेसमेत उहाँले जानकारी दिनुभयो ।

ठेक्का रद्द गरेपछि करिब ७० जना मजदुरको पेटमा लात हान्ने काम भएको भन्दै मजदुर तथा ठेकेदारहरुले भरतपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा नारायणगढ बजारको पार्किङ व्यवस्थापन सहज हुँदै गएको अवस्थामा नगरपालिकाले एकपक्षीय ढंगबाट ठेक्का रद्द गराइएको आरोप लगाइएको छ ।

ठेकेदार रविन्द्र गौतमद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा ठेकेदारका कुनै प्रतिनिधिहरुको सहभागिताविना निर्णय भएको बताइएको छ । गौतमले छ महिनाको लागि करारमा ७० जना कर्मचारी नियुक्त गरी पार्किङ शुल्क उठाउन थालेको तथा पार्किङ थाल्दा आफ्नो लगानीसमेत डुबेको बताउनुभयो । ठेकेदारको मागलाई नगरपालिकाको बोर्ड, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकायमा राख्ने खरेलले बताउनुभयो ।

नगरपालिकाले नगर क्षेत्रका तीन मुख्य क्षेत्रमा पार्किङ व्यवस्थापनको लागि गत असोजमा ठेक्का दिएको थियो । जसअन्तर्गत नारायणी पुलदेखि नहरसम्म र सहिदचोकदेखि लुम्बिनी बैंकसम्मको क्षेत्रको टेण्डर बलबहादुर तामाङले क्रमशः छ लाख ५२ हजार र चार लाख ६३ हजारमा पाएका थिए भने भरतपुर चौविसकोठी अस्पताल लाइनको क्षेत्रको पार्किङका लागि रविन्द्र गौतमले दुई लाख ३७ हजार रुपैयाँमा टेण्डर हात पारेका थिए ।

पार्किङका लागि नगरपालिकाले चारपाङ्ग्रे सवारीसाधनका लागि प्रति दुई घण्टा १० र मोटरसाइकलका लािग पाँच रुपैयाँ शुल्क तोकेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी