उच्च सर्तकताका साथ नष्ट गर्नेक्रम जारी
भरतपुर । पोल्टीको राजधानी भनेर चिनिने चितवनमा फेरि पनि
बर्डफ्लु देखा परेको छ । तीन हप्ताअगाडि भरतपुर–८ का प्रताप थापाले पालेको
कुखुराको फर्ममा देखा परेको बर्डफ्लु फेरि भरतपुर–९, र मंगलपुर–७ मा देखा
परेको हो । यसपटक भरतपुर–९ बसन्तचोकस्थित लक्ष्मी राणा तथा मंगलपुर–७ का राजेन्द्र हमालको कुखुरा फर्ममा बर्डफ्लु देखा परेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरले जनाएको छ । केही समयदेखि कुखुरा मर्न थाले पनि शुक्रबारमात्र कुखुराहरु बर्डफ्लुको कारण मर्न थालेको प्रमाणित भएको जिल्ला पशु कार्यालयका रामकुमार कार्कीले जानकारी दिनुभयो ।
संक्रमित कुखरामा बर्डफ्लुको भाइरस फेला परेपछि शुक्रबार अबेर राति नै जिल्ला पशु कार्यालय तथा एभिएन इन्फ्युएञ्जा नियन्त्रण कार्यालयको प्राविधिक टोलीले केही संक्रमित कुखुरा नष्ट गरेको थियो ।
टोलीले शुक्रबार अबेर रातिदेखि कुखुरा नष्ट गर्न थाली शनिबार बिहानसम्ममा भरतपुर–९की राणाको ११ हजार २८९ र पश्चिम चितवनका राजेन्द्र हमालको फर्ममा तीन हजार २२५ कुखुरा नष्ट गरेको छ । टोलीले मङ्गलपुरको फार्मबाट २६० केजी दाना र २४० वटा अण्डासमेत नष्ट गर्नुका साथै खोरवरिपरि सरसफाइसमेत गरेको छ । बाँकि कुखुरा पनि शनिबार अबेर देखि मार्न थालीएको र मार्ने क्रम जारी रहेको जिल्ला पशु कार्यालयका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो ।
चितवनका दुईवटा कुखुरा फार्ममा एकै पटक बर्डफ्लु भेटिएपछि उच्च सर्तकताका साथ नष्ट गर्नेक्रम चलिरहेको चितवनका वरिष्ठ पशु चिकित्सक बोधनाथ अधिकारीले जानकारी दिनुभयो ।
वर्डप्लु संक्रमण देखिएको लक्ष्मी राणाको पोल्टी फर्म र कखुरा नष्ट गर्न खनिएको खाडलको माटो । |
राणाले पालेको फर्ममा करिब ५२ हजार कुखुरा रहेकोमा सबैलाई नष्ट गरिने जनाइएको छ । एकैपटक दुई फर्ममा बर्डफ्लु फेला परेपछि ठूलो परिमाणमा कुखुरा नष्ट गर्न समय लागेको पशु कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो ।
राणाले दुई ब्लकमा कुखुरा पालेको र एक ब्लकको मात्र शनिबार बिहानसम्म नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । राणाको कुखुरा फर्ममा चैत २६ गतेबाट कुखुरा मर्न थाले पनि वैशाख २ गते नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको र बिहीबार साँझमात्रै बर्डफ्लु भएको पुष्टि भएको पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर काठमाडाँैका निर्देशक डा. विजयकान्त झाले जानकारी दिनुभयो ।
बर्डफ्लु पहिचान भइसकेलगत्तै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले निर्णय गरी कुखुरा नष्ट गर्न निर्देशन दिइसकेको निर्देशक झाले बताउनुभयो । उहाँका अनुसार बर्डफ्लु नियन्त्रणका लागि जिल्लामा नै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बर्डफ्लु नियन्त्रण प्रविधिक समिति बनाइ सबै नियन्त्रणका काम सोही मातहत गरिने प्रावधान गरिएको छ ।
राज्यतर्फबाट बर्डफ्लु नियन्त्रणका लागि तदारुकता नदेखाएको आरोपको समेत खण्डन गर्नुभयो । ‘बर्डफ्लु नियन्त्रणको दायित्व सरकारको हो’, उहाँले भन्नुभयो, ‘हामीलाई जानकारी हुनासाथ बिदाको दिन भए पनि नियन्त्रणका लागि टोली खटाएका छाँै ।’
बर्डफ्लु नियन्त्रणका लागि निर्देशनालयले मातहतका जिल्ला पशुसेवा कार्यालयबाट नियमित फर्महरुको अनुगमन हुनुका साथै नमुना संकलन गरी परीक्षण गर्ने काम भइरहेको समेत डा. झाले जानकारी दिनुभयो । स्थानीय प्रयोगशालामा परीक्षणपछि बर्डफ्लुको शंका लागे केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिने र त्यहाँबाट पनि बर्डफ्लु भएको प्रमाणित भए जिल्लाका प्रविधिक समूहलाई खटाइ नियन्त्रण अभियान चलाउने उहाँले बताउनुभयो ।
अहिले बर्डफ्लु देखा परेको राणाको फर्म यसअगाडि बर्डफ्लु देखिएको फर्मभन्दा करिब एक किलोमिटरको दूरीमा रहेको छ । बर्डफ्लु लागेका फार्मको कुखुरा नष्ट गरेपछि किसानलाई केही राहत उपलव्ध गराउने प्रावधान रहेको समेत निर्देशक झाले जानकारी दिनुभयो ।
त्यसका लागि प्यारेण्ट स्टक लेयर्सको प्रतिगोटा ५०० रुपैयाँ, प्यारेण्ट स्टक ब्रोइलर प्रतिगोटा २५० रुपैयाँ सरकारका तर्फबाट सहयोग गरिने उहाँले बताउनुभयो ।
त्यस्तै ब्रोइलर तथा लोकल कुखुरा ६ हप्तामाथिको प्रतिगोटा १३० रुपैयाँ र कमको ५० रुपैयाँ सहयोग प्रदान गरिने प्रावधान रहेको छ । त्यस्तै दाना प्रतिकिलो १० रुपैयाँ, अण्डा प्रतिगोटा तीन रुपैयाँ र मासु प्रतिकिलो १०० रुपैयाँ सरकाले सहयोग गर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच नेपाल भेटेनरी एसोसिएसन चितवन च्याप्टरले केही दिनदेखि चितवनलगायतका विभिन्न स्थानमा देखिएको बर्डफ्लु रोगप्रति ध्यानाकार्षण भएको जनाएको छ । साथै बर्डफ्लुबाट बच्न सम्बन्धित सबैमा सर्तकता अपनाउनसमेत आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष डा. विजय श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा आफ्नो खोरमा कुखुरा मरे वा शंका लागेमा तुरुन्त पशुसेवा कार्यालय, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला वा नजिकको भेटेरिनरीमा सम्पर्क राख्न अनुरोध गरिएको छ । पंक्षीजन्य बस्तुसँग सम्पर्कमा रहँदा उचित जैविक सुरक्षाको विधि अपनाउनसमेत आग्रह गरिएको छ ।
we have to control as soon as found it otherwise it will be very harmful
ReplyDelete