Sunday, April 21, 2013

बर्डफ्लु संक्रमित सबै कुखुरा नष्ट

जोखिमयुक्त खोरको अनुगमन तीव्र              

भरतपुर । पछिल्लो पटक बर्डफ्लुको संक्रमण देखा परेपछि चितवनमा करिब ५५ हजार कुखुरा नष्ट गरिएको छ । पछिल्लोपटक भरतपुर–९ बसन्त चोकमा लक्ष्मी राणाको फर्ममा रहेका करिब ५२ हजार कुखुरा नष्ट गरिएको हो ।

वर्डफ्लुका कारण कुखुराहरु मरेको प्रमाणित भएपछि जिल्ला पशु सेवा कार्यालय, राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाको प्राविधिक टोलीले शुक्रबार अबेर रातिदेखि कुखुरा मार्न थालेको हो । पहिलो दिन टोलीले राणाको फर्मका ११ हजार २९९ कुखुरा नष्ट गरेको थियो । त्यस्तै सोही दिन मंगलपुर–७ स्थित राजेन्द्र हमालको फर्मका ३ हजार २२५ लेयर्स कुखुरा नष्ट गरेको थियो ।

सोही दिन टोलीले मंगलपुरका हमालको फर्ममा २६० किलो दाना र २४० वटा अण्डा नष्ट गरेको थियो । प्राविधिक टोलीले आइतबार बिहान चार बजेसम्ममा राणाको फर्मका बाँकी सबै कुखुरालाई नष्ट गरिसकेको जिल्ला पशु सेवा कार्यालय भरतपुरका प्रमुख डा.रामकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले फर्ममा रहेका अण्डा दाना समेत आइतबार अबेर नष्ट गरिएको जानकारी दिनुभयो ।

नष्ट तथा सफाइ गर्ने सबै काम नसकिएकाले क्षतिको पूर्ण विवरण आउन नसकेको उहाँले बताउनुभयो । यसअघि पनि तीन हप्ता अगाडि भरतपुरको गौरीगञ्जमा प्रताप थापाले पालेको पोल्टी फर्ममा वर्डफ्लु फेला परेपछि करिब चार हजार कुखुरा नष्ट गरिएको थियो ।

अहिले वर्डफ्लु देखा परेको राणाको फर्म थापाको फर्मभन्दा करिब एक किलोमिटरको दुरीमा रहेको छ । यसैबीच पोल्ट्रीको राजधानी चितवनमा बर्डफ्लु एकपछि अर्काे गर्दै देखा परेपछि जिल्ला पशु सेवा कार्यालय र राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरले शंकास्पद स्थानको अनुगमनलाई तीब्र पारेको छ ।


कार्यालयको प्राविधिक टोली तथा बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले बर्डफ्लु देखा परेको मंगलपुर र भरतपुर क्षेत्रका कुखुरा फर्महरुको अनुगमनलाई तीब्र पारेको हो ।

अहिलेसम्म अन्य कुखुराको फार्ममा बर्डफ्लु देखा नपरे पनि संक्रमण देखा पर्न सक्ने भन्दै सतर्कता अपनाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । बर्डफ्लु फेला परेका फर्मका खोरलाई कार्यालयले शिल गरेको छ । तीन महिनासम्म ती खोरमा कुखुरा पाल्न नपाइने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

यसैबीच कुखुरापालक किसानहरुले खोरमा जैविक सुरक्षाका विधि नअपनाउँदा बर्डफ्लुको संक्रमण बेलाबेलामा देखिएको भन्दै त्यसतर्फ ध्यान दिन केन्द्रीय पशु स्वास्थ्य अन्वेषण प्रयोेगशालाका प्रमुख विजयकान्त झाले बताउनुभयो । ‘सामान्यरुपमा जैविक सुरक्षाका विधि अपनाए संक्रमण कम गर्न सकिन्छ’ झाले भन्नुभयो, ‘यदि संक्रमण देखिइहाले पनि तत्काल पशु कार्यालय वा प्रयोगशालामा खबर गरे चाँडै नियन्त्रण गरिन्छ ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी