Monday, May 13, 2013

भत्ताको आशमा नागरिकता लिन खाली खुट्टै शिविरमा

शिवनगर । उमेरले चार बीस काट्यो । अनुहार चाउरी परिसके । पाइतालालाई चप्पल फाप्दैन तर पनि सोमबार शिवनगर गाविस परिसरमा भेटिएकी गंगानगर पटिहानीकी रेवती थापाको मुहारमा छुट्टै उमंग देखिन्थ्यो । भरतपुर गएर नागरिकता बनाउने झन्झटका कारण नागरिकता बनाएकी थिइनन् उनले । नागरिकता नभएकै कारण सरकारले बाँड्ने सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित उनमा अब भत्ता पाइने आशाले उमंग थपिएको पाइयो ।

आफ्नै छिमेकी गाविस शिवनगरमा सरकारी सेवा सुविधासहितको नागरिकता टोली आएपछि श्रीमान, बुहारी र गाउँकै एक व्यक्ति (कृष्णे) सँगै खाली खुट्टा शिवनगर आइपुगेकी थापाले नागरिकतासँगै भत्ता पाउने भन्दै हामीसँग खुसी व्यक्त गरिन् । ‘अब भत्ता पाउँछु, महिनाको एक हजार रुपैयाँ’, उनले भनिन्, ‘खेत छैन्, घरमात्र छ खानलाई पुग्छ ।’

तीन महिनामा एक पटक वितरण हुने भत्ता सरकारले बढाएको भन्ने उनलाई थाहा रहेछ । ‘खै पहिला अरुले दुई हजार बुझ्थे र अहिले भाउ बढेको छ रे’ नागरिकता बनेपछि कति पाइन्छ त भत्ता भन्ने चितवन पोष्टको प्रश्नमा थापाले भनिन्, ‘तीन महिनामा तीन हजार पाइन्छ रे ।’

पहिला नागरिकता चाहिन्छ भनेर आफूलाई कसैले नभनेको पनि उनले बताइन् । ‘नागरिकता बनाउनुपर्छ भनेर कसैले भनेनन्’, वृद्ध थापाले भनिन्, ‘भत्ता बुझ्ने बेला भएपछि मात्र थाहा पाएँ, भरतपुर जान टाढा भयो ।’

आइतबारदेखि सुरू भएको शिविरमा शिवनगर गाविससँगै पार्वतीपुर, शारदानगर, गुञ्जनगर, पटिहानी, गीतानगर, मंगलपुर, फुलवारी गरी आठवटा गाविसका स्थानीयलार्ई जिल्लास्थित सरकारी कार्यालयको सेवा सुविधा प्रदान गरिएको थियो ।
सोमबार सकिएको शिविरबाट सोमबार १४६ जनालाई नागरिकता वितरण गरिएको छ । त्यस्तै आइतबार ८४ जनालाई नागरिकता वितरण गरिएको थियो ।

सोही स्थानमा पुगेको जिल्ला निर्वाचन आयोगको टोलीले दुई दिनमा २२० जनाले फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएको छ । त्यस्तै, शिविरमा राखिएको जिल्ला पशुसेवा कार्यालयको सेवा केन्द्रबाट दुई दिनमा जम्मा १२ जनाले सेवा लिएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी