Wednesday, May 16, 2012

नागरिकतामा ‘आमा वा बाबु’ राख्न माग

काठमाडौं । नयाँ संविधानमा ‘आमा वा बाबु’ दुबैको नामबाट नागरिकता पाउने व्यवस्था गर्नुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चद्वारा बुधबार आयोजित ‘आगामी संविधानमा नागरिकताको अधिकार’ विषयक गोष्ठीमा नयाँ बन्ने संविधानको नागरिकतासम्बन्धी व्यवस्थाका बारेमा उच्चस्तरीय कार्यदलले वंशजका आधारमा नेपाली नागरिकता प्राप्त गर्नका लागि ‘आमा र बाबु’ दुबै नेपाली नागरिकता हुनुपर्ने भनी गरिएको प्रस्ताव गलत भएको भन्दै ‘आमा वा बाबु’ राख्नुपर्नेमा जोड दिएका हुन् । सभासद सपना प्रधान मल्लले उच्चस्तरीय कार्यदलले आमा र बाबु दुबै नेपालीको नागरिक हुनुपर्ने भनी गरेको प्रस्तावले एकातिर समावेसी नभएको र अर्कातर्फ महिलाको समान अस्तित्वलाई स्वीकार नगरेको धारणा राख्नुभयो । राष्ट्रिय महिला आयोगका सदस्य मोहना अन्सारीले महिला अधिकारसंँग जोडिएको नागरिकताको सवाललाई नयाँ संविधानमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अधिवक्ता सविन श्रेष्ठले आमा र बाबु दुबै नेपाली नागरिक भएको अवस्थामा पनि आफ्ना सन्तानलाई नागरिकता दिलाउन नचाहने वा नसक्ने भएका त्यस्ता बालबालिकाहरु अङ्गीकृत नागरिकताका लागि योग्य नहुने र राज्यविहीन हुनसक्ने भन्दै आमा वा बाबु भन्ने प्रावधान राख्दा ती समस्याहरु नआउने बताउनुभयो । अधिकारकर्मी लक्ष्मी कार्कीले राज्यका हरेक अङ्गमा महिलाको समान सहभागिता हुनुपर्ने माग गर्दै महिला अधिकारका लागि सबै महिलाहरुलाई एक ढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी