Monday, May 7, 2012

ढेगनीका छोराछोरी एसओएस बालग्राममा

ढेगनीका सन्तान ः बोक्सी आरोपमा हत्या गरिएकी ढेगनीका छोराछोरी मीना र समिर सोमबार आफ्नी ठूली आमाका साथमा एसओएस बालग्राममा । 
 ढेगनीका छोराछोरी एसओएस बालग्राममा
भरतपुर । बोक्सीको आरोपमा छिमेकमा बस्ने आफन्तले निर्मम तरिकाले हत्या गरेका माडीकी ढेगनीदेवी महतोका छोराछारीलाई भरतपुरको एसओएस बालग्रामले निःशुल्क बस्ने, खाने र पढ्ने व्यवस्था मिलाएको छ । सोमबारदेखि उनीहरु बालग्राममा बस्न लागेका छन् ।
गत फागुन ५ गते ढेगनीलाई नातामा उनको ससुरा पर्ने बघौडा वडा नं. २ का विक्रम महतोको परिवारले बोक्सी आरोपमा कुटपिट गरेर ज्यान लिएको थियो । उनका श्रीमान् शालिकरामको विसं २०५९ साल भदौमा क्यान्सर रोगका कारण निधन भएको थियो ।
‘घरको आर्थिक अवस्था पनि सारै नाजुक देखियो । बाबुको रोग लागेर ज्यान गएको रहेछ, आमाको त्यस्तो जघन्य तरिकाले हत्या गरियो । यस्ता अनाथ बालबालिकालाई हामीले आश्रय दिएका हौं’, बालग्रामका निर्देशक भोला पौडेलले भन्नुभयो ।
ढेगनीका १२ वर्षका छोरा समिर र नौ वर्षकी छोरी मीनालाई बालग्राममा हस्तान्तरण गर्न उनका ठूला बुबा डिल्लीराम र ठूलीआमा लक्ष्मी आएका थिए । समिरले बघौडाको स्थानीय प्राथमिक विद्यालयबाट पाँच र मीनाले तीन कक्षा उत्तीर्ण गरेका छन् ।
एसओएसले अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय पनि संचालन गर्छ । समिर र मीनाले कुन कक्षामा पढ्न सक्छन् त्यही कक्षामा भर्ना गर्ने निर्देशक पौडेलले जानकारी दिनुभयो । ‘अब यो उनीहरुको घरजस्तै भयो । यहाँ बसेको, खाएको, पढेको एक पैसा पनि तिर्नु पर्दैन’, पौडेलले भन्नुभयो ।
उच्च शिक्षाका साथै सीप सिकाएर रोजगार पाउनसमेत एसओएसले मद्धत गर्ने उहाँले बताउनुभयो । एसओएसमा आएकाहरु आत्मनिर्भर भएरमात्रै बालग्रामबाट निस्कने गरेको पौडेलले जानकारी दिनुभयो ।
झण्डै दुई वर्षअगाडि चितवनको पहाडी गाविस लोथरको वडा नं. ९ मा पर्ने कान्दा गाउँमा जंगलबाट ल्याएर पकाएको च्याउ खाँदा एकै घरका आठ जनाको ज्यान गएको थियो । सो बेला बाँचेका नौ महिनाका बालक संसारबहादुर चेपाङलाई एसओएस बालग्रामले नै आश्रय दिएको थियो । एसओएस बालग्राम भरतपुरमा अहिलेसम्म यस्ता १४२ जना बालबालिकाहरुले आश्रय लिएका छन् ।
‘घटना ज्यादै दुखद् थियो । त्यसको चोट त मनमा सधै रहने छ । यी बालबच्चाको बिचल्ली होला कि भन्ने थियो तर यस्तो राम्रो ठाउँमा बस्न पाए । राम्रो शिक्षा दीक्षा पाउने भए’, समिर र मीनालाई एसओएसमा हस्तान्तरण गर्न आएका उनका ठूली आमा तथा ठूला बुबा लक्ष्मी र डिल्लीरामले एकै स्वरमा भने ।
बोक्सी आरोपमा निर्मम तरिकाले हत्या गरेपछि सरकारले ढेगनीदेवीका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । त्यस्तै विभिन्न संघसंस्थाले उनका छोराछोरीलाई शिक्षा दिलाउन सरकारले पहल गर्नुपर्ने माग गरेका थिए ।
‘देशै हल्लाउने दुखद् घटना भयो । यस्तो बेहोरेका बलाबालिकालाई उद्धार गरेका हौं, यहाँ राख्ने ठाउँको अभाव हुँदाहुँदै पनि मिलायौं’, पौडेलले भन्नुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी