नेपालगन्ज,
वैशाख ३१- नून खाएको कुखुराझैं अधिकाँश सिनेकर्मीहरु झोंक्राइरहेका बेला
फिल्म ‘सायद’ का पश्चिमेली निर्माता सुनिल रावल, निर्देशक सुरज सुब्बा र
अन्य कलाकार भने उत्साहित छन्। नेपाली सिने इतिहासमै रेकर्ड कायम गर्दै
चलचित्र ‘सायद’ ले सम्भावनाको ढोका खोलिदिएपछि उनीहरु दङ्ग परेका हुन्।
हलिउड र बलिउडको नक्कल गरेर नेपाली (कलिउड) फिल्म बन्छ भन्ने आरोप
लागिरहेका बेला ‘सायद’ को स्क्रिप्ट किनेर भारतीयहरुले फिल्म बनाउँदै छन्।
रिलिज नगर्दै निर्माता रावलले भारतीय सिनेकर्मीहरुलाई स्क्रिप्ट बेचेका छन्। स्क्रिप्ट र च्यारिटी शोबाट नै ‘सायद’ ले लगानी गरेको करिब ७५ प्रतिशत रकम उठाइसकेको छ। फिल्मको स्क्रिप्ट बेचेका कारण निर्माता रावल मख्ख देखिन्छन्। लगानी डुब्ने हो कि भनेर अन्य निर्माता डराईडराई फिल्म रिलिजको डेट तोक्दै गर्दा निर्माता रावलको रित्तिएको खल्तीमा रिलिज नहुँदै ६० लाखभन्दा बढी रुपियाँ ‘सायद’ ले दिइसकेको छ।
कैलाली, टीकापुरका रावलले ५१ लाख रुपियाँमा फिल्म ‘सायद’ को स्क्रिप्ट भारतीयहरुलाई बेचेका छन्। भारतको पश्चिम बङ्गालका फिल्म प्रदर्शक एवम् हल मालिक अमरदेव र तिकम शर्मालाई उनले करिब एक महिनाअघि स्क्रिप्ट बेचेका हुन्। उक्त स्क्रिप्टको हाल हिन्दी र बङ्गाली भाषामा डब भइरहेको छ। आफूले लेखेको स्क्रिप्टलाई भारतीय सिनेकर्मीले मन पराइदिएका कारण ‘सायद ’ का निर्देशक एवम् लेखक सुरज सुब्बा नाल्बो पनि मख्ख छन्।‘ नाल्बोले नागरिकसँग टेलिफोनमा भने- टिनएजर हुँदा आफ्नै अगाडि साथीहरु दुर्व्यसनको कुलतमा लागेको देखें। त्यही समस्यालाई रोचक पारामा तयार पारी स्क्रिप्ट बनाएँ।’ नेपाली सिने संसारमा केही वर्षअघि मात्र प्रवेश गरेका नाल्बोले यतिबेला नाम र दाम कमाएका छन्। कलिउडको साख बचाउन सक्ने खुबी भएका निर्देशकका रुपमा समेत उनलाई लिन थालिएको छ।
No comments:
Post a Comment
Thanx for your comment