Thursday, May 3, 2012

स्थापना दिवसमा महासंघको प्रभातफेरी

भरतपुर । प्रेस स्वतन्त्रता दिवसको अवसरमा बिहीबार भरतपुरमा प्रभातफेरी सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा सम्पन्न प्रभातफेरी महासंघको कार्यालयबाट सुरू भई चौबीसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । पेसागत सुरक्षाको अभाव र प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपका कारण पत्रकारहरु मर्कामा परिरहेको अवस्थामा पत्रकारहरु बिहीबार केही समय भएपनि एकजुट भई प्रभातफेरीमा सहभागि भएका थिए । प्रभातफेरीपछि चोबीसकोठीमा आयोजित कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका सभापति जनक अर्यालले प्रेस स्वतन्त्रताको हनन् भइरहेको अवस्थामा पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा सम्पूर्ण पत्रकारका संघसंगठनसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सम्पूर्ण संघसंगठनहरुसँग मिलेर श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गरेर अगाडि बढ्नु पर्दछ, त्यसमा महासंघ पनि साथमा छ ।’ चितवनलाई ऐन कार्यान्वयनका दृष्टिले नमुना जिल्ला बनाउने भन्दै पत्रकार ऐन कार्यान्वयनका लागि केन्द्रीयस्तरबाट सम्पूर्ण प्रेससँग सम्बन्धित संघसंस्थाका प्रमुखहरुको उपस्थितिमा सामुहिक प्रतिबद्धता गराउन पहल भइरहेको उहाँले बताउनुभयो ।

तीन पत्रकार पुरस्कृत

यसैबीच सोही अवसरमा नेपाल पत्रकार महासङ्घद्वारा प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट तीन वरिष्ठ पत्रकार सम्मानित भएका छन् । पत्रकारिता जगतमा लामो समयदेखि उल्लेख्य योगदान पु¥याएबापत हरेक वर्षझै यसवर्ष पनि वरिष्ठ पत्रकार क्रमशः देवेन्द्र गौतम, दील सहनी र वैद्यनाथ झा सम्मानित हुनुभएको हो । यस्तै रु एकलाख राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वीरगन्जका पत्रकार जगदीश शर्मा पुरस्कृत हुनुभएको छ । त्यसैगरी नगद रु १० हजार राशिको उमासिंह पत्रकारिता पुरस्कार उमेश शाहलाई प्रदान गरिएको छ भने नगद रु एक लाख एक हजार ११ राशिको नेपाल अमेरिका पत्रकार सङ्घ पुरस्कार ग्रामीण भेगमा पत्रकारिताको योगदान पु¥याएबापत हेटौँडाका पत्रकार प्रताप विष्टले प्राप्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, पूर्वअध्यक्ष धर्मेन्द्र झालगायतले प्रेस अधिकार सम्पन्न नभएसम्म जनता सूचित हुन नसक्ने भन्दै नयाँ बन्ने संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको थियो ।

1 comment:

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी