Thursday, May 3, 2012

भर्ना अभियानका लागि सडक बालबालिका चुनौती

विधुर ढकाल भरतपुर । सहरका गल्लीमा भौँतारिँदै कबाडी सामान बटुलेर आफ्नो जीवन धाँनिरहेका सडक बालबालिकाहरु यतिखेर सरकारले सञ्चालन गरिरहेको विद्यालय भर्ना अभियानका निम्ति चुनौती बन्न पुगेका छन् । विद्यालय जाने उमेर पुगेका बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको विद्यार्थी भर्ना अभियानअन्तर्गत यतिखेर चितवन जिल्लामा दोस्रो चरणका कार्यक्रमहरु सञ्चालनमा छन् तर यी सडक बालबालिकालाई अभियान ‘कागलाई बेल पाक्यो हर्ष बिस्मात’ बन्ने निश्चित छ । सरकारले सरकारी तथा सामुदायिक विद्यालयमा विद्यालयबाहिर रहेका बालबालिकालाई लक्षित गरी विद्यालयमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरे पनि अभियानअन्तर्गत सडक बालबालिकालाई समेट्न गाह्रो काम भएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा स्वीकार गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘सडक बालबालिकालाई यस अभियानअन्तर्गत ल्याउन गाह्रो काम त हो तरपनि हामीले स्थानीय गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छौँ, उहाँहरुले सहयोग गरे हामीले छात्रवृत्तिलगायत पाठ्यपुस्तक उपलव्ध गराउने छाँै ।’ सडक बालबालिकालाई आवास तथा खानाको व्यवस्था गर्ने सरकारको कुनै पनि कार्यक्रम नभएको उहाँको भनाइ थियो । अभिभावक भएका बालबालिकाले त आर्थिक विपन्नताका कारण विद्यालयको मुख देख्न नपाइरहेको अवस्थामा झन् सडक बालबालिकाका न आफ्ना अभिभावक नै छन् न त आफ्नो बस्ने बासको नै व्यवस्था छ । यस्तो अवस्थामा सरकारले सञ्लालन गरेको अभियानअन्तर्गत उनीहरुलाई समेट्ने कुनै पनि कार्यक्रम सरकारसँग छैन । सहरी क्षेत्रमा मात्र होइन, चितवन यस्तो जिल्ला हो जसले राजधानीलाई प्रतिस्पर्धा गर्न सक्दछ । यहीँ यस्ता अभावग्रस्त बस्तीहरु पनि छन् जहाँ शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारहरु पुग्न सकिरहेका छैनन् । ती क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने काम पनि चुनौतीपूर्ण छ । ग्रामीण भेगका बालाबालिकालाई विद्यालयमा पु¥याउनका निम्ति जिल्ला शिक्षा कार्यालयले विभिन्न चरणहरुमा कार्यक्रमहरु सञ्चालन गरेको जिल्ला शिक्षा अधिकारी शर्माले बताउनुभयो । विद्यालय जाने उमेर पुगेका बालबालिका विद्यालयभन्दा बाहिर नहुन् भनेर सरकारले सञ्चालन गरेको अभियानले शतप्रतिशत सफलता नपाए पनि जिल्ला शिक्षा कार्यालयले लिएको लक्ष्य पूरा हुने शर्माको भनाइ छ । उहाँले भन्नुभयो, ‘हुन त सबै विद्यार्थी विद्यालयमा पुगून् भन्ने अभियानको लक्ष्य हो तरपनि हामीले यस जिल्लामा आगामी चालु शैक्षिकसत्रमा ९७ प्रतिशत बालबालिकालाई विद्यालयमा पु¥याउने लक्ष्य लिएका छौं ।’ जिल्ला शिक्षा कार्यालयले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अझै चार प्रतिशत विद्यालय जान उमेर पुगेका बालबालिकाहरु विद्यालयभन्दा बाहिर रहेका थिए । यस शैक्षिकसत्रमा कार्यालयले यसलाई घटाएर तीन प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी