‘९८४१…….बाँकी सबै आफै हान’ चलचित्र ‘शायद’को यो संवाद अहिले निक्कै चर्चामा रहेको छ । शुक्रवारबाट काठमाडौंका हलमा चलेको यो चलचित्रले पहिलो दिन बन्दको मार खेप्नु परेकाले पनि आशातित व्यापार गर्न सकेन । तर शनिबार र आइतबार भने सिनेमाको व्यापार राम्रो रहेको छ । आखिर यस चलचित्रभित्र त्यस्तो के छ, जसले सिनेमा हेर्न दर्शक हलसम्म जाउन् ।
हेर्नै पर्ने कुरा :
चलचित्र ‘शायद’को सबैभन्दा सबल पक्ष भनेको यसको कथा हो । चलचित्रले उठाएको विषयवस्तु समसामयिक रहेको छ । बिशेषगरी जेनेरेशन ग्याप र ड्रक्सका विषयलाई उठान गरिएको यो चलचित्र व्यवसायिक भन्दा पनि शिक्षामुलक भएको छ । अहिलेको २१ औं शताब्दीको आधुनिक पुस्ता जसलाई नयाँ पुस्ता भनिन्छ । नयाँ पुस्ता र अघिल्लो पुस्ताबीच देखिएको जेनेरेशन ग्याप नै सिनेमाको मुख्य पाटो हो । चलचित्र विशेषगरी गाउँले भेगका दर्शकका लागि भन्दा पनि काठमाडौ र केही नेपालका चर्चित शहर वरिपरी घुमेको देखिन्छ । जहाँ जेनेरेशन ग्याप र आधुनिक पुस्ताले रोजेको बाटो चलचित्रले देखाउन खोजेको जस्तै हुँदै गईरहेको छ ।
चलचित्रभित्र धेरै कुराहरु सुष्म रुपमा उठान गरिएको छ भने कतिपय कुराहरु सिम्बोलिक रुपमा समेत रहेका छन् । जसले दर्शकलाई बाँधेको छ । कथा नौलो नभएतापनि चलचित्रको प्रस्तुति आकर्षक रहेको छ । निर्देशक सुरज सुब्बा नाल्बोको निर्देशन पाटो राम्रो छ । आफ्नो छोराछोरी कता गैरहेका छन् र उनीहरुले समातेको बाटो सही छ या छैन यस बारेमा बाबुआमालाई सजग रहन सिनेमाले झक्झकाएको छ । छोराछोरीलाई पैसा दिएको छु, पुगिहाल्यो भन्ने सोचाई बोकेका अभिभावकका लागि यो सिनेमाले राम्रो सन्देश दिएको छ ।
शायद यस्तो भईदिएको भए :
यो सिनेमा भित्र सबै कुराहरु राम्रा छन् भन्ने पनि छैन । सिनेमाभित्र केही कुराहरुको अभाव खड्किन्छ, जहाँ दर्शकले भन्छन्, शायद यस्तो भैदिएको भए अझ राम्रो हुन्थ्यो होला । चलचित्र बग्दै जाँदा, दर्शकलाई सिनेमाभित्र केही मसलाहरु थप गरिएको भए हुन्थ्यो भन्ने लाग्छ । चलचित्रको शुरुवातदेखि अन्त्यसम्म कलाकार संयम पुरी खराब पात्रको रुपमा मात्र देखिएका छन् र उनकै सेरोफेरोमा चलचित्र घुमेको छ ।चलचित्रले एउटै विषयलाई मात्र एकहोरो उचालिरहेको छ, जसका कारणले केही ठाउँमा दर्शकलाई दिक्क पनि लाग्न सक्छ । चलचित्रमा एक पात्र छन्, जो कलेजका शिक्षक हुन्छन् । उनको चरित्र फोहोरी छ, जो कलेज आउँदा गन्हाउछन् । यसकारणले पनि उनलाई विद्यार्थीले गर्ने व्यवहार राम्रो हुँदैन ।
तर कलेजबाट निकालिएका शिक्षकलाई बिद्यार्थीले गरेको व्यवहार अपाच्य लाग्छ । शिक्षक जस्तो भए पनि विद्यार्थीले शिक्षकलाई गरेको त्यो व्यवहार दुव्र्यवहार हो । यसले समाजमा राम्रो सन्देश दिँदैन । चलचित्रभित्र केही मसलाहरु राख्न सकिन्थ्यो, जसले सिनेमा हेर्दा दर्शकलाई पट्यार लाग्नबाट हटाउन सक्थ्यो । तर एकै विषयमा घुमेको कथाले अन्य विषयवस्तु जोड्न चाहेन, जसले गर्दा सिनेमा बेलाबेलामा पट्यारलाग्दो बन्छ ।
दशर्ककले सम्झने पात्र :
चलचित्र हेरेर हलबाट वाहीर निस्किएका दर्शकले चलचित्रका पात्रहरुका विल्सन बिक्रम राईलाई सम्झन्छन् । दर्शकलाई हलमा बाँधेर राख्न उनले निभाएको पात्र र उनको प्रस्तुतिका साथमा उनका उरन्ठेउला संवादले महत्वपूर्ण भूमिका खेलेको छ । चलचित्र सायदबाट नेपाली सिनेमामा आएका नव कलाकार संयम पुरी पनि दर्शकका नजरमा पर्छन् । उनको भूमिका सिनेमाभित्र मुख्य रुपमा उतारिएको छ र उनले आफ्नो भूमिकालाई निभाएका छन् ।
चलचित्रमा नायक बाबु बोगटीलाई दिईएको भूमिकाले उनलाई कुनै फाईदा गरेको छैन । नायिका करिश्मा मानन्धर पनि सिनेमा भित्र केही समय देखिन्छन् । तरब जब उनी सिनेमाबाट हराउँछिन्, दर्शकको दिमागबाट पनि हराउँछिन् । झरना थापा र निर्माता समेत रहेका सुनिल रावलले पनि सम्झन योग्य काम गरेका छन् । चलचित्र शायदले मनोरञ्जन भन्दा बढी शिक्षा दिन्छ । जुन समय सान्दर्भिक पनि रहेको छ । चलचित्र मनोरञ्जनका लागि मात्र होईन, सन्देशमुलक पनि हुनुपर्छ भन्ने भनाईलाई शायदले पुष्टी गरेको छ । यो सिनेमा एकपटक हेर्दा पैसा खेर भने जाँदैन ।
vie: onlinekhabar
No comments:
Post a Comment
Thanx for your comment