शेरबहादुर केसी, बुटवल, जेठ २- चिनीलाई पगालेर ‘मह’ बनाउँदै गरेको अवस्थामा प्रहरीले बुटवलमा तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सोमबार राति बुटवल–७ पुरानो बसपार्कपछाडि सुकुम्बासी बस्तीमा छापा मारी झण्डै ५ सय लिटर नक्कली महसमेत बरामद गरेको छ।
पक्राउ पर्ने नक्कली मह बनाउँदै गरेका विष्णु धामी, विक्की धामी र सन्तोष धामी हुन्। सप्तरीको राजविराज घर बताए पनि उनीहरु भारतीय हुनसक्ने प्रहरीको अनुमान छ। नक्कली मह बनाउँदै बेचबिखन कार्यमा संलग्न अन्य पाँच फरार रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी कृष्ण महतका अनुसार पहाडी क्षेत्रका गाउँगाउँमा गएर माहुरीको चाका किनेर ल्याउने र त्यही चाकामा चिनीको बाक्लो रस राखेर मह भन्दै बेच्दै आएको सूचनाका आधारमा छापा मारेर त्यसमा संलग्नहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरुले मह भन्दै सर्वसाधारणलाई प्रतिकेजी ६ सय रुपियाँसम्ममा बिक्री गरेको प्रहरीलाई बयान दिएका छन्। प्रहरीले २५ लिटर अट्ने ६ वटा र १५ लिटर अट्ने २३ वटा प्लाष्टिकका भाँडासहित ४ सय ९५ लिटर नक्कली मह बरामद गरेको छ। त्यसैगरी चिनी पगाल्ने भाडा, चिनीको रसमा मिसाउनका लागि मैनबत्ती बनाउने मैन र १० किलो चिनी पनि प्रहरीले बरामद गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाउन प्रहरीले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवासँग समन्वय भइरहेको जनाएको छ।
No comments:
Post a Comment
Thanx for your comment