Sunday, May 27, 2012

सभासद्लेनै पत्रकारलाई सोधे-’अब के हुन्छ’ ?


काठमाण्डौं । संविधानसभाको १२४ औँ बैठकको प्रतीक्षामा दिनभर संविधानसभा भवन परिसरमा बसेका सभासद्हरू संविधान निर्माण र संविधानसभाको बैठकबारे बेखबर थिए। बिहान ११ बजे नै बैठक सुरु हुन्छ भनेर संविधानसभा भवन परिसरमा बसेका सभासद्हरू बाहिर के हुँदैछ भन्ने कुराका लागि कि त एफएम रेडियो सुन्थे वा पत्रकारलाई सोध्थे।

संविधानको माग गर्दै दिउँसो र साँझ संविधानसभाभित्रै सभासद्हरूले नारा जुलुससमेत गरे। विशेषगरी एनेकपा (माओवादी) का वैद्य समूह निकट र मधेसी मोर्चाका सभासद्हरू नाराबाजीमा सहभागी थिए। उनीहरूले दलका नेताहरूले संविधानसभालाई बन्दी बनाएको भन्दै आक्रोश व्यक्त गरेका थिए।

उनीहरू एफएम रेडियोका समाचार सुन्न र समूह-समूहमा बसेर छलफल गर्न नै दिनभर व्यस्त देखिन्थे। क्यान्टिनमा बसेर ठट्टैठट्टामा ‘यो अन्तिम भोज हो’ भन्नसमेत कतिपय सभासद्हरूले भ्याएका थिए। शीर्ष नेताहरूको बैठक, संविधान जारी हुने वा नहुने, संविधानसभा भङ्ग भएमा के हुन्छ ? भन्दै सञ्चारकर्मीसँग सभासद्हरू नै जिज्ञासा राखिरहेका भेटिन्थे। कतिपय सभासद्हरू संविधानसभाको बैठक, संविधानबारे जिल्ला-जिल्लाबाट प्राप्त फोन उठाउन व्यस्त देखिन्थे।

“चासो राख्दै जिल्लाबाट कार्यकर्ताहरूको फोन दिनभर आएको आएकै छ,” नेकपा (एमाले)का सभासद् प्रकाश पाखि्रन भन्नुहुन्छ- “के उत्तर दिने ? के हुँदैछ भन्नेबारे हामी आफैँ अनभिज्ञ छौँ।” उहाँले जसरी भए पनि एकथान संविधान ल्याउनुहोला, नत्र यहाँ बाँच्न सकिन्न भनेर आˆनो निर्वाचन क्षेत्रका जनताले फोनमा गुनासो गर्ने गरेको बताउनुभयो।त्यस्तै, एनेकपा -माओवादी)का सभासद् हेमराज भण्डारीले संविधान जारी गर्न नसकिएको स्थितिमा जनतासामु जाने आˆनो नैतिकता समाप्त हुने बताउनुभएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

यसैगरी, एनेकपा (माओवादी) की सभासद् धर्मशीला चापागाइर्ं संविधानसभाभित्रै भएका कतिपय घटनाबारे एफएमबाटै जानकारी पाएको बताउनुहुन्छ। इयरफोन कानमा लगाउँदै यताउता गरिरहनुभएकी सभासद् चापागाईंले जिल्लाबाट आएका फोनहरूमा नै राजधानीमा भइरहेका कतिपय घटनाका सूचना पाउने गरेको बताउनुभयो।

एमाले सभासद् शान्ता चौधरी सोध्दै हुनुहुन्थ्यो- “तपाईं पत्रकारहरूलाई त थाहा होला, अब के हुन्छ ? संविधान त आउला है।” उहाँले आˆनो भित्री मनले संविधान त नेताहरूले ल्याउलान्जस्तो लागेको पनि बताउनुभयो।

संविधानसभा भवन परिसरमा समूह-समूह बसेका सभासद्हरूको अनुहारमा चमक होइन, निराशा नै देखिन्थ्यो। सञ्चारकर्मीहरूको व्यापक उपस्थितिबीच सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको थियो। संविधानसभाको सूचना कक्षमा सञ्चारकर्मी फेसबुक र अनलाइन हेर्नमै दिनभर मस्त थिए भने टेलिभिजन र एफएम रेडियोकर्मीहरू भने प्रत्यक्ष प्रसारणमा दिनभर व्यस्त देखिन्थे

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी