Friday, May 4, 2012

कारागारमा सम्भाव्य झडप रोकियो

भरतपुर । भरतपुर कारागारमा शुक्रबार दुइ समूहबीच झडपको स्थिति सिर्जना भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका थुनुवाहरु र कारागारमै रहेका अन्य बन्दीहरुबीच आरोप प्रत्यारोप र आक्रमण बढ्न थालेपछि स्थितिलाई नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था बढाइएको हो ।
कारागारमा आफन्त भेट्न आउनेलाई पनि निक्कै कडाइ गरिएको छ भने सर्वसाधारणलाई भेटघाटमा पनि शुक्रबार अबेरसम्म रोक लगाइएको छ । कारागारका प्रमुख टोलप्रसाद शर्माले कारागारभित्रै र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो । सम्भाव्य झडप हुनसक्ने कुरालाई मध्यनजर राखेर सुरक्षा व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।
यसैबीच कारागारको पछिल्लो परिस्थितिका बारेमा विश्लेषण गर्दै जिल्लास्थित सुरक्षा समितिको बैठक शुक्रबार कारागारमै बसेको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको हो । बैठकले कारागारमा सुरक्षा व्यवस्था बढाउन निर्देशन दिएको छ ।
बैठकमा कारागारभित्र सुरक्षा कडा पार्दै लैजाने बारेमा पनि छलफल भएको थियो । डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका थुनुवाहरु र कारागारमै रहेका अन्य बन्दीहरुबीच आरोप प्रत्यारोप र आक्रमण बढ्न थालेपछि सोको नियन्त्रणका सम्बन्धमा सुरक्षा समितिको बैठक बसेको हो ।
दुई समूहबीचको सम्भाव्य झडप रोक्नका लागि एक समूहलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने सम्बन्धमा पनि छलफल केन्द्रित रहेको श्रोतको भनाइ छ । यसअघि गत मंसिर २० गते कारागारभित्रै थुनुवा रहेका अवस्थामा तत्कालीन तरुण दल चितवनका अध्यक्ष शिव पौडेलमाथि आक्रमण भई हत्या भएको थियो । सो घटनापछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिँदै आएको छ ।
यसैबीच सुरक्षा समितिको बैठकले चार जना कैदीबन्दीलाई अन्य कारागारमा पठाउन कारागार विभागलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी