Friday, June 8, 2012

नेपाली कटहर भारतीय बजारमा लोकप्रिय

जनकपुरधाम । धनुषा जिल्ला वैदेही गाविस–५ का रामदिन मुखियाले सीमावर्ती भारतीय बजारमा नेपाली कटहर लगेर बिक्री गर्न थालेपछि अहिले उनको दिन फेरिएको छ ।
सधैँभरी आर्थिक सङ्कट झेल्दै आएका मुखियाले भारतीय बजारमा कटहर बेच्न थालेपछि केही जग्गा जोड्नुका साथै छोराछोरीलाई स्कुलसमेत पढाउन थालेका छन् । नेपाली कटहरको भारतीय बजारमा माग बढेपछि विदेश पलायन हुने सोचमा रहेका त्यस क्षेत्रका युवासमेत यस व्यवसायमा अग्रसर भएका देखिन्छन् ।
एकाबिहानै सीमावर्ती भारतीय बजार पिपरौन, जयनगर, उबगाउँ, हरलाढी, देउधार, छपकौनीमा साइकलमा कटहर लगेर बिक्री गर्ने यस क्षेत्रका व्यापारीको सङ्ख्या अहिले ५० भन्दा बढी पुगेको छ । जिल्लामा प्रतिहेक्टर १५ टन कटहर उत्पादन हुँदै आइरहेकोमा किसानले करिब १५ हेक्टर क्षेत्रफलमा यसको खेती गर्ने गरेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
राजमार्गको उत्तरी भेगमा कटहरको व्यावसायिक खेती हुने गरेको छ भने उत्पादित कटहरमध्ये करिब ५० प्रतिशत भारतीय बजारमा खपत हुने गरेको यस व्यवसायमा संलग्न व्यापारीको भनाइ रहेको छ । नेपाली कटहर स्वादिलो, पोषिलो तथा खानमा रुचिकर भएकाले यसप्रति उनीहरुको माग बढिरहेको कृषि प्रसार अधिकृत देवनारायण रजकले बताउनुभयो ।
जेठदेखि भदौसम्म कटहरको उत्पादन समय रहन्छ । नेपाली बजारभन्दा भारतीय बजारमा राम्रो दाम मिल्ने भएकाले यस व्यवसायमा संलग्न व्यापारी आर्थिकरुपमा सबल हुँदै गइरहेका छन् ।
कटहर व्यवसायले राम्रो आर्थिकलाभ दिन थालेकाले सरकारले यसको खेतीलाई पकेट कार्यक्रमअन्तर्गत अगाडि बढाउनुपर्ने माग धनुषाको किसानको रहेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी