Saturday, August 18, 2012

‘क्रान्ति सम्पन्न गर्न ज्ञान र विवेक चाहिन्छ’

गँैडाकोट । ज्ञान र विवेकको प्रयोगबाट आर्थिक क्रान्ति सम्पन्न गर्नुपर्ने पूर्वअर्थमन्त्री डा. रामशरण महतले बताउनुभएको छ । नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको शनिबार नवलपरासीको गँैडाकोटमा उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।
चार हजार वर्षपहिले समृद्ध पूर्वीय क्षेत्रलाई विगतका चार दशकमा ज्ञान र विवेकको प्रयोगले पश्चिमा मुलुकले जितेको उहाँले बताउनुभयो । ‘चार हजार वर्षपहिले पूर्वीय संस्कृति जति सम्पन्न थियो, त्योभन्दा पनि पछिल्ला चार दशकमा पश्चिमा मुलुककले आर्जित गरेको समृद्धिमाथि छ’, उहाँले भन्नुभयो, ‘यो सबै ज्ञान र विवेकको प्रयोगले सम्भव भएको हो ।’
नेपाल बन्द हडतालका कारण आर्थिक उन्नति गर्न पछि परेको उहाँको जिकिर थियो । ‘नेपालका युवाहरु बन्द हडतालमा अगाडि छन्’, काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका महतले भन्नुभयो, ‘चार वर्षसम्म नेपाललाई बन्द हडताल निषेधित क्षेत्र घोषणा गर्ने हो भने नेपालले पनि आर्थिक समृद्धिमा सफलता हासिल गर्नेछ ।’ शिक्षा, सडक र व्यवसायलाई शान्ति क्षेत्र घोषणा गरी बन्द हडताल निषेधित क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
पश्चिमा मुलुकले कसरी आर्थिक समृद्धि हासिल गरे मूल्याङ्कन गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । ‘विज्ञान, प्रतिस्पर्धा, प्रजातन्त्र र औषधिका कारण उनीहरुले चमात्कारिक समृद्धि हासिल गरेका हुन्’, नेता डा. महतले भन्नुभयो, ‘बहुलवादमा आधारित प्रजातन्त्र र आर्थिक उदारवाद नभई समृद्धि सम्भव छैन ।’ आर्थिक स्वतन्त्रता प्रदान गरेर व्यक्तिलाई क्षमता, उद्यमशीलताका आधारमा विवेकको प्रयोग गर्न दिनुपर्ने उहाँको भनाइ थियो ।
आजको युग खुला विश्वव्यापीकरण र भूमण्डलीकरणको युग भएको भन्दै विदेशी पँुजीलाई नेपाल भित्राउनुपर्ने उहाँले बताउनुभयो । ‘विदेशी पुँजीको प्रयोगविना विकास सम्भव छैन’, महतले भन्नुभयो, ‘विदेशी पँुजीलाई निषेध गर्ने चीनलेसमेत विदेशी पुँजीको प्रयोग गरेर अहिले आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याएको छ ।’
श्रोत हुँदैमा कोही पनि समृद्धि नहुने उहाँले दावी गर्नुभयो । ‘श्रोत हुँदैमा मुलुक समृद्ध हुँदैन, खाडी मुलुकहरु धनी त छन् तर समृद्ध छैनन्’, महतले भन्नुभयो, ‘श्रोतको भरपूर उपयोग गर्नसके मुलुक समृद्धि बन्न सक्छ ।’ नेपाल जलश्रोतको धनी मुलुक भएपनि समृद्ध हुन नसकेको उहाँको संकेत थियो ।
जलश्रोतको उपयोग गर्नसके नेपालका पहाडबाट बर्सेनि करोडाँैको तरकारी हिन्दुस्तान जाने उहाँको भनाइ थियो । नेपालले पर्यटनको विकासलाई पनि सँगसँगै लैजानुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जेसीजका राष्ट्रिय अध्यक्ष तेजशंकर भट्टले राजनीतिक खिचातानीका कारण मुलुक समृद्ध बन्न नसकेको बताउनुभयो । राजनीतिक निकास र विकासका लागि जेसीजले सबै युवाहरुलाई प्रशिक्षित पारी उतार्ने उहाँको भनाइ थियो ।
यसैबीच सम्मेलनका अवसरमा ‘शान्ति सुशासन र पर्यटनमार्फत राष्ट्र निर्माणमा युवा’ विषयक गोष्ठी पनि शनिबारै गँैडाकोटमा सम्पन्न भएको छ । गोष्ठीमा एकीकृत नेकपा माओवादीका युवा नेता अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, नेपाली काँग्रेसका युवा नेता एवम् नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल र नेकपा एमालेका युवा नेता योगेश भट्टराईले बोल्नुभएको थियो ।
क्षेत्र ‘घ’ अन्तर्गत नवलपरासी, रुपन्देहीलगायतका जिल्लाका जेसीजका ५०० प्रतिनिधिको सहभागिता रहेको छ । कार्यक्रम जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोलेश्वर दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
दुई दिनसम्म चल्ने सम्मेलन गैँडाकोट घोषणापत्र जारी गरी आज आइतबार सम्पन्न हुने सम्मेलनका निर्देशक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । गँैडाकोट जेसीजको आथित्यमा भएको कार्यक्रममा समाजमा विशिष्ठ योगदा पु¥याएको भन्दै जिल्ला फुटवल संघ नवलपरासीका उपाध्यक्ष लक्ष्मण कार्की, दृष्टिविहीन लोक गायिका शारदा सापकोटा र एचआईभी संक्रमित एकल महिला निर्मला पौडेललाई उत्कृष्ट युवा वर्ष सम्मान प्रदान गरिएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी