Tuesday, August 7, 2012

श्रमका निम्ति विदेसिने महिलाको सङ्ख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेसिने महिला श्रमिकको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।
गत आर्थिक वर्षमा कामको सिलसिलमा विदेश जाने महिलाको सङ्ख्या अघिल्लो वर्षको तुलनमा दोब्बरले वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा २२ हजार ९८८ जना विदेसिएका थिए भने त्योभन्दा अघिल्लो वर्ष १० हजार ४१६ जना कामको खोजीमा बाहिरिएका थिए ।
बितेका चार वर्षमा सबैभन्दा बढी २१ हजार महिला कुवेत गएका छन् भने संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार र साउदी अरेबिया जानेको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको विभागले जनाएको छ ।
भारतीय भूमि भएर गैरकानुनी रूपमा खाडी मुलुक नजान सरकारले गरेको आग्रहका साथ वैधानिक बाटोबाटमात्र जान प्रोत्साहन गरेपछि स्वदेशबाट नै महिला विदेश जान थालेका श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले राससलाई बताउनुभयो ।
सामाजिक सुरक्षा, सुविधालगायत व्यापक प्रचारप्रसारका कारण भारतबाट नभई यहीँबाट जानुपर्छ भन्ने चेतनामा भएको विकासका कारण पनि महिला श्रमिकको सङ्ख्या बढेको उहाँको कथन छ ।
यसअघि, भारतको मुम्बई तथा नयाँदिल्लीबाट दैनिक ६०–७० जना महिला घरेलु कामदारका रूपमा खाडी मुलुकतर्फ जाने गरेका थिए ।
सरकारले घरेलु कामदारका रूपमा नेपाली महिलालाई रोजगारी दिने व्यक्ति विगतमा महिला हिंसामा नपरेको, कम्तीमा ६ महिनाको तलब सुरक्षा प्रबन्धका रूपमा नेपाली दूतावासमा राख्नुपर्ने, कामदारलाई बेग्लै कोठाको व्यवस्था गर्नुपर्ने तथा उसलाई नियमित नेपाल सम्पर्क गर्न सञ्चार सुविधा दिनुपर्ने प्रावधान तोकेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी