अलपत्र सामान ः कारखानाको उत्पादन बन्द भएपछि अलपत्र अवस्थामा रहेका कागज । |
माग सुनुवाइ हुनेमा मजदुरहरु आशावादी
गैँडाकोट । भृकुटी कागज कारखानाका आन्दोलनरत मजदुर र सञ्चालकबीच काठमाडौंमा वार्ता सुरू भएको छ ।विसं २०६७ साल फागुनदेखि सो कारखानाको उत्पादन ठप्प छ । मजदुरहरुले सोही वर्षको मंसिरबाट तलब पाएका छैनन् । उत्पादन सुरू गर्न र तलब वितरण गर्न माग गर्दै मजदुरहरुले साउन १० गतेबाट संघर्ष सुरू गरेका थिए ।
‘तलब वितरणका विषयमा केन्द्रित रहेर मंगलबार र बुधबार वार्ता भयो । फेरि शुक्रबार पनि हुँदैछ’, संयुक्त समस्या समाधान तथा संघर्ष समितिका संयोजक राम शर्माले भन्नुभयो । समितिले साउन १० गतेदेखि संघर्ष सुरू गर्दा मागको बारेमा सुनुवाइ नभए साउन २५ गतेबाट काठमाडौंमा रहेको कारखानाको केन्द्रीय कार्यालयमा धर्ना दिने तयारी गरेको थियो ।
‘वार्ता सुरू भएपछि हामीले केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम हाललाई स्थगित गरेका छौं’, शर्माले भन्नुभयो । तर माग पूरा नभए धर्नाको कार्यक्रम सुरू गर्ने उहाँले बताउनुभयो ।
समितिमा आवद्ध नौ जना पदाधिकारी काठमाडौं गएपनि गैँडाकोटमा रहेका अरु मजदुरहरुले धर्ना कार्यक्रमको तयारी गरेका छन् । धर्ना बस्नका लागि खर्च गर्न भनेर प्रत्येक मजदुरबाट तीन हजार रुपैयाँ संकलन गरिएको छ ।
काठमाडौंमा संयुक्त संघर्ष समितिका साथै अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष बाबुराम गौतम, नेपाल कारखाना श्रमिक संघका धीरेन्द्र शाह र नेपाल ट्रेड युनियन महासंघका हरिदत्त जोशी सहभागी छन् ।
त्यस्तै सञ्चालकको तर्फबाट हितेश गोल्छा र राजेन्द्र काबरा सहभागी भएको संघर्ष समितिका संयोजक शर्माले जानकारी दिनुभयो ।
‘दुई दिनको वार्ता सकारात्मक दिशामा अगाडि बढेको छ । उहाँहरुले तलब दिन बैंकसँग कुरा गरेर शुक्रबार फेरि वार्तामा बस्छौं र निकास निस्कने छ भन्नुभएकाले हामी आशावादी भएका हौं’, संयोजक शर्माले भन्नुभयो । तर निकास पनि नदिने र वार्ता भनेर समयमात्रै लम्ब्याउन थाले गैँडाकोटबाट मजदुरहरु बोलाएर काठमाडौंमै संघर्ष सुरू गर्ने उहाँको भनाइ छ ।
‘हामीले ६७ साल मंसिरबाट तलब नपाएपछि सोही वर्षको माघमा समिति गठन गरेर सञ्चालकदेखि राज्यका सबै निकायमा पुग्यांैं । जिल्लामा पटकपटक संघर्ष गरेका छौं, अहिले काठमाडौं आएर वार्ता गर्दापनि समस्या समाधान भएन भने सधैँ चुप लागेर बस्दैनौं’, समितिका संयोजक शर्माले भन्नुभयो ।
कारखानाले उत्पादन बन्द गरेपछि करार र ज्यालादारीका अन्य मजदुरहरुलाई तलब दिएर बिदा गरेपनि स्थायी भएका ३३३ जना मजदुर कर्मचारी र १४ जना सुरक्षा गार्डले भने तलब भत्ता पाएका छैनन् । कारखाना व्यवस्थापनले गत वर्षको मंसिर ६ गते सूचना निकालेर २०६७ फागुनयताको तलब दिन नसक्ने बताएको छ ।
तर प्रक्रिया पु¥याएर उद्योग बन्द नगर्दासम्म कारखानाले पूरै तलब र क्षतिपूर्तिसमेत दिनुपर्ने मजदुर संघर्ष समितिको अडान छ । ‘हामीले क्षतिपूर्ति स्वरुप साढे तीन महिनाको तलब बराबरको रकम र प्रक्रियागत ढंगले उद्योग बन्द नहुँदासम्मको तलब पाउनुपर्ने साथै उपदान र बिमा रकम पूरै पाउनुपर्ने माग राखेका छौं’,संयोजक शर्माले भन्नुभयो ।
चीन सरकारको सहयोगमा विसं २०४२ सालमा बनेको कागज कारखाना सरकारले विसं २०४९ सालमा निजीकरण गरेको हो । गोल्छा समूहले सोही बेलादेखि नै उद्योग चलाउँदै आएको छ ।
सो उद्योग राख्नका लागि तत्कालीन सरकारले न्यूनतम मूल्यमा सर्वसाधरणको जग्गा अधिग्रहण गरेको थियो । यसरी बनेको कारखानालाई अहिले बन्द गरेर प्लटिङ गर्न थालेको मजदुरहरुको आरोप छ ।
भृकुटीले महिनाको सरदर एकहजार ५३० टनसम्म कागज उत्पादन गर्दै आएको थियो । प्रतिटन कागजको न्यूनतम ६० हजार रुपैयाँ पर्छ । भृकुटीको उत्पादन रोकिँदा कागजका लागि महिनाको नौ करोड रुपैयाँ विदेशिएको कारखाना स्रोतको भनाइ छ ।
मजदुरहरुले श्रम कार्यालयमा उजुरी दिएपछि सो कारखानको नाममा रहेको ५३ बिघा जग्गा पनि रोक्का भएको छ । हाल तलब नपाएको विषयमा मात्रै वार्ता केन्द्रित भएपनि मजदुरहरुले कारखाना सञ्चालन हुनुपर्ने माग पनि राखेका छन् ।
नेपालमा खपत हुने कागजमध्ये झण्डै आधा कागज यही उद्योगमा उत्पादन हुन्थ्यो । यसका साथै गुणस्तरीय कागज बनाउनका लागि प्रयोग हुने पल्प यही बन्ने गर्दथ्यो जुन जापान जान्थ्यो ।
No comments:
Post a Comment
Thanx for your comment