रोपाइँजात्राका क्रममा नारायणगढमा सहभागी तेस्रोलिङ्गीहरु । |
मौलिक संस्कृति लोप हुन नदिनको लागि रोपाइँजात्रा निकालिएको कार्यक्रमका संयोजक रोहितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रोपाइँजात्रासँगै निकालिएको झाँकीमा बालबालिकाहरुलाई भगवान कृष्ण तथा अन्य देवदेवीहरुको प्रतीकको रुपमा सजाएर सहभागी गराइएको थियो । सहभागीहरुले धानको प्रतीकको रुपमा सिरु घाँसलाई सडकमा रोपेको अभिनयसहित नृत्य प्रस्तुत गर्दै नगर परिक्रमा गरेका थिए ।
जात्रामा रोपाइँका बेला गरिने क्रियाकलापहरुको कलात्मक प्रस्तुतिहरु देखाइएको थियो । वर्षभरिको हिलो र रोपाइँको स्मरणलाई ताजा राख्न काल्पनिकरुपमा रोपाइँ गर्दै रमाइलो गर्ने प्रचलन रहिआएको छ ।
हरेक वर्ष कृष्णजन्माष्ठमीको दिन पारेर नारायणगढस्थित नारायणी कला मन्दिरले रोपाइँजात्रा निकाल्ने गरेको छ । यस पटकको कार्यक्रममा करिब ७५ हजार खर्च गरिएको आयोजकले जनाएका छन् ।
यसैबीच जात्रामा सहभागी हुन सबैलाई आह्वान गर्दै कला मन्दिरले ‘हो पाँचो हो’ समेत निकालेको थियो ।
नेवार बाहुल्य चितवन, पाल्पा, काठमाडौ, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुमा रोपाइँ सकिएको प्रतीकको रुपमा रोपाइँजात्रा निकालिने गरिन्छ ।
यता, कृष्णजन्माष्ठमीको दिन बिहीबार नारायणगढ तथा चितवनका अन्य कृष्णमन्दिरहरुमा व्रतालु भक्तजनहरुको भीड लागेको थियो । हिन्दू महिलाहरु यस दिनमा व्रत बस्ने गर्दछन्् । विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाहरुले कृष्णजस्तै पति प्राप्तीको कामना गर्दै कृष्ण भगवानको आराधाना गर्ने गर्दछन् ।
साउन महिनाको कृष्णपक्षको अष्ठमीको दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा हिन्दू धर्मावलम्बीहरुले श्रीकृष्ण मन्दिरमा पुगी श्रीकृष्णको पूजा आराधाना गर्दै जन्माष्ठमी पर्व मनाउने प्रचलन छ । यसै दिनदेखि नेपाली महिलाहरुले तीज सुरू भएको भन्दै तीजकै दिनसम्म नाचगान गरी मनाउने गर्छन् ।
No comments:
Post a Comment
Thanx for your comment