Friday, August 3, 2012

पेट्रोलियम अन्वेषणका निम्ति दुई कम्पनीसँग सम्झौता

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ अन्वेषणको कार्य तीव्र गतिमा अघि बढाउने भएको छ । देशका विभिन्न १० स्थानमा गरिएको भौगर्भिक अध्ययनले त्यहाँ पेट्रोलियम पदार्थ रहेको निष्कर्ष निकालेपछि अन्वेषणको काम शीघ्र अघि बढाउने सरकारी निर्णय भएको हो ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको खानी रहेको पुष्टि गर्ने ठोस प्रमाण फेलापरेकाले अन्वेषणका निम्ति हालै दुईवटा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौता भएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि गत असार २१ गते अमेरिकी कम्पनी बीबी च्याम्पियन र संयुक्त अरब इमिरेट्सको ईएबीजी कम्पनीसँग सम्झौता भएको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख राजेन्द्रप्रसाद खनालले बताउनुभयो ।
‘नौ हजार ८६१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको जनकपुर र राजविराज ब्लकमा ईएबीजी र चार हजार ९६९ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको विराटनगर ब्लकमा बीबी च्याम्पियनले अन्वेषण एवम् उत्खनन्का निम्ति सम्झौता गरेका छन्’, परियोजना प्रमुख खनालले भन्नुभयो । सम्झौता भएको मितिले ६० दिनभित्र विस्तृत कार्ययोजना प्रस्तुत गनुपर्ने प्रावधान भएकाले दुवै कम्पनीले त्यसपछि आवश्यक काम थाल्ने उहाँले बताउनुभयो ।
नेपाल पेट्रोलियम ऐन र पेट्रोलियम नियमावलीबमोजिम सम्झौता भएकाले त्यसैअनुरुप काम हुने उहाँले उल्लेख गर्नुभयो । दुवै ऐनले अध्ययन–अनुसन्धान एवम् व्यापारिक उत्पादनका लागि बेग्लाबेग्लै स्थानमा उत्खनन् गर्नसक्ने व्यवस्था गरेको छ । चार वर्षको प्राथमिक अन्वेषण अवधि पाएका ती दुवै कम्पनीले तेल, प्राकृतिक ग्यासलगायत पेट्रोलियम पदार्थ भए–नभएको निक्र्यौल निकाल्ने छन् ।
व्यावसायिक उत्पादन हुने सुनिश्चित भएपछि पुनः सम्बन्धित कम्पनीहरुसँग सम्झौता हुने र त्यसमा सरकारी लगानीबारे पनि स्पष्ट किटान गरिने जानकारी दिँदै उहाँले प्रारम्भिक अन्वेषणमा सरकारको लगानी नपर्ने प्रष्ट गर्नुभयो । ईएबीजी र बीबी च्याम्पियनसँग भएको यो सम्झौतासँगै परियोजनाले पहिचान गरेका पेट्रोलियम पदार्थयुक्त क्षेत्रमा अन्य कम्पनीले अन्वेषणको अनुमति पाउने छैनन् । दसवटै ब्लकमा अन्तर्राष्ट्रिय कम्पनीले अन्वेषणका अनुमति लिइसकेकाले त्यसो भएको हो ।
चार हजार ९४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धनगढी, चार हजार ८३८ वर्गकिलोमिटरमा रहेको कर्णाली, चार हजार ९६५ वर्गकिलोमिटर भूभाग समेटेको लुम्बिनी तथा चार हजार ८४८ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको वीरगञ्ज र चार हजार ९२० वर्ग किलोमिटर क्षेत्रमा विस्तारित मलङ्गवा ब्लकमा बेलायती कम्पनी कैयरन इनर्जीले अन्वेषणको अनुमति लिएको छ ।
त्यसैगरी अमेरिकी कम्पनी टेक्सानाले नेपालगञ्ज र चितवन ब्लकमा अन्वेषणको इजाजत लिएको छ । नेपालगञ्ज चार हजार ९०८ र चितवन ब्लक चार हजार ९४५ वर्ग किलोमिटरमा फैलिएको छ । टेक्सानाले आगामी १३–१४ महिनामा र कैरन इनर्जीले छदेखि सात महिनाभित्रमा अन्वेषण प्रतिवेदन प्रस्तुत गर्ने सहसचिव खनाल बताउनुहुन्छ ।
खानी तथा भूगर्भ विभागअन्तर्गत सञ्चालित पेट्रोलियम अन्वेषण परियोजना स्थापना भएको झन्डै तीन दशक भइसकेको भए पनि पेट्रोलियम अन्वेषणको क्षेत्रमा खासै उपलब्धि हासिल हुन नसकेको परियोजनाप्रमुख खनाल स्वीकार गर्नुहुन्छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी