भरतपुर । समग्र मधेश एक प्रदेश भन्नु अतिवादी चिन्तन भएकोे नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय प्रवक्ता मनहरि महतोले बताउनुभएको छ । ओबीसी चितवनको प्रथम जिल्ला अधिवेशनको सोमबार नारायणगढमा भएको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मधेशभित्र फरक जाति र भाषाभाषीहरु भएको भन्दै समग्र मधेशलाई एक प्रदेश बनाउनु भनेको मधेशी जनतामाथि एकलौटी राज गर्ने सोच भएको प्रवक्ता महतोले बताउनुभयो । ‘समग्र मधेशलाई छ प्रदेशमा विभाजन गर्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘फेरि पनि विभिन्न जातजातिमा विभक्त विभिन्न भाषाभाषी मधेशी जनतामाथि राज गर्न खोज्नु महेन्द्रवादी चिन्तन हो ।’
मधेशी जनताका नाममा भएका आन्दोलन र दस वर्षे जनयुद्धका साथै जनआन्दोलनले समेत आन्दोलनमा होमिएका पिछडावर्ग मधेशीको हित गर्न नसकेको उहाँको आरोप छ । ‘पिछडावर्ग मधेशीका नाममा भएका आन्दोलन सत्ता प्राप्तिका खेलमात्र भए, त्यो नेताहरुको व्यक्तिगत स्वार्थका निम्तिमात्र प्रयोग भयो’, महतोले भन्नुभयो ।
नौनौ पटकसम्म संविधान संशोधन हुँदासमेत पिछडावर्गको अधिकार सुनिश्चित हुन नसकेको उहाँको गुनासो थियो ।
पिछडावर्गको आन्दोलनले आफ्ना अधिकारलाई केही मात्रामा स्थापित गर्न सकेपनि पूर्ण हुन नसकेको ओबीसीका केन्द्रीय इञ्चार्ज उपेन्द्र शाहले बताउनुभयो । ‘पहिचान स्थापनाको सवालमा पिछडावर्गको आन्दोलन सफल भएपनि अधिकार प्राप्तिका लागि अझै आन्दोलन जारी राख्न आवश्यक छ’, उहाँले भन्नुभयो । पिछडावर्गभित्रका समुदायहरु एक भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ थियो ।
‘चीनको तिब्बत्त र भुटानका नेपाली भाषीहरु राज्यको मूलधारमा रहेर राज्यको शासनसत्तामा पहुँच हुँदाहुँदै पनि शरणार्थीको रुपमा नेपाल पस्नु परेको छ’, महतोले भन्नुभयो, ‘पूर्ण भएको भन्दै आन्दोलनबाट विश्राम लिए हाम्रो पनि तिनै शरणार्थीको जस्तै हालत हुनेछ ।’
कार्यक्रममा बोल्दै जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेलले राज्यले पिछडावर्गहरुका लागि भनेर जिल्लामा १५ लाख अनुदान दिएको जानकारी दिनुभयो । ‘अन्य जाति र समुदायलाई भन्दा राज्यले पिछडावर्गलाई बढी बजेट छुट्याएको छ’, उहाँले भन्नुभयो, ‘तपाईंहरु आफँैले कार्यक्रम बनाएर यसलाई खर्च गर्न सक्नुहुन्छ ।’ बजेटमा राज्यको तथा कुनैपनि दलको अवरोध नहुने उहाँको भनाइ छ ।
कार्यक्रममा दलितवर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष गोपाल परियार, ओबीसी बाराका सचिव पारस जयसवाल, ओमप्रकाश गुप्ता, गोपालजी रौनियारले बोल्नुभएको थियो । ओबीसीका जिल्ला अध्यक्ष वीरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन महाधिवेशनको प्रमुख अतिथि केन्द्रीय सचिव तेजप्रकाश सहनी हुनुहुन्थ्यो । महाधिवेशन सुरू हुनुअघि सहभागीहरुले आ–आफ्ना झाँकीसहित नारायणगढ बजार परिक्रमा गरेका थिए ।
यसैबीच अधिवेशनले नयाँ जिल्ला कार्यसमिति पनि चयन गरेको छ ।
No comments:
Post a Comment
Thanx for your comment