रक्षाबन्धनबाट टाढै रिक्सा मजदुर र बालश्रमिक
विधुर ढकाल
नारायणगढ । हिन्दूहरुको सांस्कृतिक पर्व जनैपूर्णिमा तथा रक्षाबन्धन बिहीबार उल्लासपूर्ण तरिकाले मनाइरहँदा तिनै हिन्दूहरुमध्ये नारायणगढका सडकमा भेटिएका धेरैजसो रिक्सा मजदुर तथा सडकबालबालिकाहरु भने यसबाट टाढा नै रहे ।
कतिपय मजदुरहरु आफ्नो हातमा धागो बाँधिदिने कोही नभएका कारण खाली हात लिएर आफ्नो नियमित काममा लागिरहे भने कति टाढाको घर जान नसकेर खाली हात बस्नुप¥यो ।
नारायणगढको पुलचोकमा भेटिएका एक रिक्सा मजदुरले रहर भएर पनि बहिनीको हातको धागो बाँध्न नपाएको दुखेसो पोख्दै थिए । वीरगञ्ज घर बताउने भगवती चौधरीले घर टाढा भएकै कारण राखीमा घर जान नपाएको गुनासो गरे ।
‘घर टाढा छ, काम नगरी खान पुग्दैन’, उनले भने ‘गएर आउँदा जति खर्च हुन्छ त्यति रिक्सा चलाउँदा कमाइन्छ ।’ उनी त एक प्रतिनिधि पात्रमात्र हुन् । नारायणगढ तथा भरतपुरका सडकमा भेटिएका रिक्सा चालकहरुमध्ये एकाधको मात्र हातमा राखी देखिन्थ्यो ।
‘चाड आउने भनेको त हुनेखानेलाई मात्र रहेछ’, अर्का रिक्सा चालक भगवान महतोले भने । काम गरेर खानेका लागि कहिले पो आयो र चाड ? उनको प्रश्न थियो ।
नारायणगढका सडकमा भेटिएका यी श्रमजीवीहरुलाई राखीले मात्र नभई कुनै पनि चाडले छुन नसकेको महतोले बताए । ‘चाड मनाउन पहिले बाँच्नु पर्दाेरहेछ, बाँच्नका लागि अन्न चाहिन्छ’, उनले भने, ‘काम नगरी अन्न कहाँबाट जुटाउने ?’
यसरी सडकमा पसिना बगाउनेहरुलाई मात्र होइन, सडकलाई नै आफ्नो बासस्थान बनाउने सडक बालबालिकाहरुलाई पनि जनैपूर्णिमा तथा रक्षाबन्धनले छुन सकेन । नारायणगढका गल्लीगल्लीमा कवाड बटुल्दै हिँड्ने सडक बालश्रमिकहरुको दिन बिहीबार पनि दिनहँुजस्तै बित्यो ।
सहिदचोकमा भेटिएका सुरज विकले आफूलाई राखी बाँधिदिने कोही नभएको बताए । उनले भने, ‘कसले बाँधिदिने र हामीलाई ? आफ्ना लागि हरेक दिन एकनासको हुने बताउँछन् सडक मजदुरहरु ।
यसैबीच रक्षाबन्धनका दिन बिहानैदेखि नारायणगढ तथा भरतपुरका मन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो देखिन्थ्यो । नारायणगढको नारायणी नदी किनारमा रहेको हरिहर मन्दिर र भरतपुरको शिवालय मन्दिरमा समेत जनै तथा धागो मन्त्र गर्ने गराउनेहरुको भीड देखिन्थ्यो ।
बिहानैदेखि घर टाढा भएकाहरु मन्दिरमा गएर पण्डितको हातबाट मन्त्र गरेको जनै धारण गरेका थिए भने हातमा धागो बाँधेका थिए ।
त्यस्तै रक्षाबन्धनको दिन बिहीबार नै नारायणगढका मिठाई पसलहरुमा मिठाइ किन्नेहरुको भीड थियो । आयातित संस्कृतिका रुपमा रहेको राखी बाँध्ने प्रचलनका कारण गल्लीगल्लीमा राखी बेच्नेहरु पनि उत्तिकै मात्रामा देखिन्थे ।
दिदी बहिनीले दाजुभाइको हातमा राखी बाँधिदिएपछि मिठाई खुवाउने प्रचलनसँगै मिठाई किन्न अधिकांश पसलहरुमा युवती तथा महिलाहरुको भीड थियो ।
No comments:
Post a Comment
Thanx for your comment