Friday, August 31, 2012

शक्तिखोर खानीपानी आयोजनाको उद्घाटन, साढे तीन सय बढी घरधुरीलाई स्वच्छ खानेपानी


शक्तिखोर । कोरियाली सहयोगमा पूर्वी चितवनको शक्तिखोरमा निर्माण गरिएको शक्तिखोर खानेपानी आयोजनाको शुक्रबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । कोरियाबाट आएको के वाटर परियोजनाका जनरल म्यानेजर ओ युन सुक, भ्वाइस म्यानेजर रोयन सुकलगायतको टोलीले खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा के वाटर परियोजनाका जनरल म्यानेजर ओ युन सुकले पहाडी क्षेत्रमा बस्ने शक्तिखोरवासीलाई स्वच्छ र सफा पानी खुवाउन पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले के वाटर परियोजनाको उद्देश्य सफा र स्वच्छ पानी खुवाउने रहेकाले शक्तिखोरवासीलाई पनि सफा र स्वच्छ पानी वितरण गर्न आयोजनालाई आग्रह गर्नुभयो ।
कोरियाको के वाटर परियोजनाको ५० लाख र उपभोक्ताहरुको सात लाख रुपैयाँ र श्रमदान गरी ५७ लाखको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजनाबाट ३६० घरधुरीका तीन हजार जना लाभान्वित हुने खानेपानी आयोजनाका अध्यक्ष रामबहादुर मगरले जानकारी दिनुभयो ।
खानेपानी आयोजनाबाट सेवा क्षेत्रअन्तर्गत पर्ने तीनवटा विद्यालयहरुले पनि पानी प्रयोग गर्न सक्ने उहाँले जानकारी दिनुभयो । खानेपानी आयोजनाअन्तर्गत शक्तिखोरको बडरेखोलाबाट पानी ल्याइएको छ ।
आयोजनाबाट ५,६ र ७ वडाका बासिन्दाले खानेपानी उपभोग गर्न पाउने छन् । पानी सप्लाइका लागि शक्तिखोरकै सूर्यटार र इराङगेडाँडामा तीनवटा ट्याङ्की निर्माण गरिएको खानेपानी आयोजनाका सहयोगी तथा शक्तिखोर गाविसका पूर्वअध्यक्ष गोपी श्रेष्ठले जानकारी दिनुभयो । 
आयोजनाको ७५ प्रतिशत काम सकिएको र आगामी एक महिनाभित्र पानी वितरण हुने उहाँले बताउनुभयो । पहाडी क्षेत्र भएकाले कडा परिश्रम र धेरै लगानी गरेर चापाकलबाट पानी निकालेर उपभोग गर्दै आएका पहाडी गाविस शक्तिखोरवासी खानेपानी आयोजान निर्माण भएपछि खुसी भएका छन् ।
‘धारा गाड्न नसक्नेलाई लामो बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता थियो’, आयोजना व्यवस्थापन समितिकी सदस्यसमेत रहेकी स्थानीय लक्ष्मी थापाले भन्नुभयो, ‘कोरियाली सहयोगमा खानेपानी आयोजना निर्माण भएपछि हामी सबै हौसिएका छौं ।’
दुई महिनाअघि शिलान्यास गरिएको सो खानेपानी आयोजनाको ७५ प्रतिशत काम सकेर उद्घाटन गरिएको अध्यक्ष मगरले बताउनुभयो । कार्यक्रममा शक्तिखोर गाविसका सचिव अर्जुन पंगेनी, के वाटर परियोजनाका जनरल म्यानेजर ओ युन सुक, भ्वाइस म्यानेजर रोयन सुक, शक्तिखोर गाविसका पूर्वअध्यक्ष गोपी श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कोरियाली खेलाडीहरुको टिमले कारियाको खेलकुद र सँस्कृति झल्कने गीत र शक्तिखोरवासीहरुको देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी