Thursday, August 30, 2012

बेपत्ता पार्ने दोषीलाई कारबाहीको माग

नारायणगढ । एमनेष्टि इन्टरनेशनल नारायणी समूह–३३ ले बिहीबार नारायणगढमा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर संकलन गरेको छ ।
तीन सयभन्दा बढी सर्वसाधारणले हस्ताक्षर गरेका समूहका संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाइने पनि उहाँले बताउनुभयो ।
बेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई अविलम्ब न्यायिक कारबाही गर्न पनि माग गरिएको छ । एमनेष्टि इन्टरनेशनल नारायणी समूह–३३ का सल्लाहकार एवम् मानवअधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय उपसभापति उद्धव लोहनीको प्रमुख आतिथ्यमा हस्ताक्षर संकलन कार्यक्रम भएको थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा १० वर्षे द्वन्द्वका समयमा एक हजार ४०१ जना बेपत्ता भएको जसमध्ये चितवन जिल्लाबाट ३९ जना नागरिक बेपत्ता भएको जानकारी गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका उपाध्यक्ष केशवभक्त सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३९ वटा मैनबत्ती बालिएको थियो । चितवनबाट बेपत्ता भएका ३९ जनाको प्रतीकका रुपमा प्रमुख अतिथिसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले मैनबत्ती बाल्नुभएको हो ।
कार्यक्रममा बेपत्ता व्यक्तिका परिवारलाई नेपाल रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिइएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, राष्ट्रिय अनुसन्धान शाखा चितवनका रामबहादुर कार्की, सशस्त्र सीमा सुरक्षा कार्यालयका सुन्दर खड्कालगायतको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी