Sunday, August 19, 2012

जापानमा नेपाली कफीको माग

काठमाडौं । कफी पारखी जापानी व्यापारी तथा नागरिकले नेपालमा उत्पादित कफी आयातको प्रस्ताव गरेका छन् ।
जापानीले नेपाली कफीको माग गरेपछि टोकियोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रयास थालेको छ । उक्त मन्त्रालयले पनि कृषि, वाणिज्य तथा आपूर्ति र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग निकट सम्पर्कमा रहेर आवश्यक कार्य प्रारम्भ गरेको छ ।
जापानमा कफी निर्यात गर्ने सम्बन्धमा कफी उद्यमी व्यवसायीसँग एक चरणमा छलफल भइसकेको तथा उनीहरूले सकारात्मक जवाफ दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव इन्द्रप्रसाद उपाध्यायले बताउनुभयो । कफीको गुणस्तर, परिमाण, निर्यात गर्ने कम्पनीको विवरणलगायत विषयमा निर्णय भइनसकेको जानकारी दिँदै उहाँले नेपाली कफी जापान पु¥याउन केही समय लाग्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्राविधिक अधिकृत विनोद आचार्यका अनुसार मुलुकमा वार्षिक ५०२ टन कफी उत्पादन हुने गरेको छ भने २६ हजार ५ सय किसान परिवार कफी खेतीमा लागेका छन् । पन्ध्र हजार हेक्टरमा कफीखेतीको सम्भावना रहेको उहाँले बताउनुभयो ।
निर्यात प्रवद्र्धन केन्द्रका अनुसार गत आवको अन्त्यसम्म रु चार करोड २३ लाख ९० हजार ५८० को कफी निर्यात भएको थियो । नेपालमा उत्पादित कफी अमेरिका, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, चीन, चेक गणतन्त्र, जर्मनी, संयुक्त अधिराज्य, कोरिया, लेबनान, नर्वे, नेदरल्यान्डस् र युक्रेन निकासी हुँदै आएको छ । अघिल्लो आवमा रु एक करोड ५४ लाख २१ हजार ८०१ को कफी आयात भएको थियो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी