Sunday, August 26, 2012

पृथ्वी राजमार्गमा दुर्घटना बढ्दो

गएको वर्षमात्र १०० जनाको मृत्यु 

 भरतपुर । पृथ्वी राजमार्गको मुग्लिनदेखि नौबिसे खण्डमा मात्रै गएको एक वर्षमा दुर्घटनाका कारण सय जनाको मृत्यु भएको छ ।
सो राजमार्गको झण्डै ९० किलोमिटर खण्डमा एक वर्षमा ६८ वटा ठूला दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङखण्डमा मात्रै आर्थिक वर्ष ०६८÷६९ मा ४६ वटा सवारी दुर्घटनामा ५८ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन् ।
धादिङ यो राजमार्गमा चालु आर्थिक वर्ष २०६९÷७० को डेढ महिनामा दुई वटा ठूला दुर्घटनामा २७ जनाको मृत्यु, १३ जना बेपत्ता र ९९ जना घाइते भएका छन् । पृथ्वीराजमार्गको धादिङक्षेत्र मौवा खोलादेखि नौबिसेसम्म पर्छ ।
यस्तै, पृथ्वी राजमार्गको चितवनतर्फको भागमा गएको वर्षमा दुर्घटनाका कारण ४२ जनाको मृत्यु भएको छ ।
यो राजमार्गको चितवनक्षेत्र मुग्लिनदेखि मौवा खोलासम्म पर्छ । यसक्षेत्रमा गत आर्थिक वर्ष  ०६८÷६९ मा साना ठूला १९० वटा सवारी दुर्घटना भएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गत आर्थिक वर्ष ०६८÷६९ मा २८ वटा दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षमा भएका ११ वटा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कमजोर सडक संरचना, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र अन्य विभिन्न कारणले दुर्घटना हुने गरेका छन् । तर दुर्घटना हुनुमा यातायात व्यवसायी सडकलाई दोष दिन्छन् भने सडक कार्यालय यातायात व्यवसायी र ट्राफिक व्यवस्थापनलाई दोष दिन्छ ।
ट्राफिक प्रहरी पनि सडक र यातायातलाई दोष दिँदै दुर्घटना हुनुका पछाडि आफूहरुको गल्ती नभएको भन्दै पन्छने काम गर्छन् । तर जानकारहरु दुर्घटना बढ्नुमा सडक, यातायात र ट्राफिक प्रहरीको समान गल्ती हो भन्छन् ।
‘दुर्घटना बढ्नुमा सबैले समान दायित्व लिनुपर्छ’, एक विज्ञले भने, ‘न त राजमार्गको अवस्था चुस्त दुरुस्त छ । न त सडकमा ट्राफिक सिक्नेलहरु नै छन् । न त सवारी साधनको अवस्था चुस्त दुरुस्त छ, अनि किन दुर्घटना हुँदैन ?’ पछिल्लोे समय दुर्घटना हुनुको प्रमुख कारण नै राजमार्गमा देखिएको खाल्टा खुल्टी नै हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी