Tuesday, August 14, 2012

काँग्रेसमा नयाँ नेतृत्वका लागि दौडधुप तीव्र


भरतपुर । नेपाली काँग्रेसले चितवनको जिल्ला समिति विघटन गरेपछि नयाँ नेतृत्वका लागि चितवनमा दौडधुप चलेको छ ।
भदौ १५ गतेभित्र चुनाव गराउन केन्द्रले निर्देशन दिएबमोजिम अहिले चितवन काँग्रेसमा को सभापति हुने भन्ने सम्बन्धमा उम्मेद्वारी घोषणा सुरू भएको छ । नेपाली काँग्रेस चितवनको तदर्थ समितिले भने पूर्वसभापति शेषनाथ अधिकारीको संयोजकत्वमा सात सदस्यीय पहल समिति गठन गरेको छ ।
समितिमा पूर्वसांसद उमा रेग्मी, पूर्व सभापतिहरु कृष्णलाल सापकोटा र पृथ्वीमान गुरुङ, नेता मेदिनीराज थापा, प्रजातान्त्र सेनानी महेश्वरलाल श्रेष्ठ र क्षेत्रीय सभापति प्रमोदकुमार श्रेष्ठ रहेका छन् । समितिले निर्विरोध कार्यसमिति चयन गर्नका लागि पहल गर्नेछ । समितिलाई भदौ ५ गतेसम्म सहमतिको प्रयासका लागि समय दिइएको छ ।
यता, चुनावी दौडधुपलाई हेर्दा निर्विरोध हुने सम्भावना निकै कम देखिएको छ । चुनावी कार्यक्रमहरुमा अहिलेसम्म नौ जनाले सभापति पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
नाम घोषणा गर्नेहरुमा विघटित समितिका सभापति विकास कोइराला, तदर्थ समितिका सभापति टेकप्रसाद गुरुङ, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महासमिति सदस्य दिनेश कोइराला, महिला नेत्री सुशीला उप्रेती, महासमिति सदस्य विजयराज भूषाल, तीर्थ भूषाल, कमल आचार्य र जगन्नाथ पौडेल रहेका छन् । पूर्वसभापति रामकृष्ण घिमिरेले भने आफू चुनावी दौडमा नरहेको तर निर्विरोध दिइएको हकमा पार्टीको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।
तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या प्रकरणका विषयलाई लिएर कार्यकर्ताको संरक्षण गर्न नसकेको भन्दै विकास कोइरालाको सभापतित्वमा रहेको जिल्ला समिति विघटन गरिएको थियो ।
नयाँ नेतृत्वका लागि सभापति, सचिव कोषाध्यक्ष र क्षेत्रबाट प्रतिनिधत्व हुने सदस्यहरु निर्वाचन गर्न अहिले चितवनमा तयारी तीव्र बनाइएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी