Tuesday, August 14, 2012

देश दूरावस्थाले अधिकांश नेपाली ‘सिक्किमे भरिया’



सिक्किमको गान्तोक सहरको एक मदिरा पसलबाट
 मदिराको भारी बोकेर निस्किँदै गरेका अधिकारी ।

विधुर ढकाल
सिक्किम । अर्काको भूमिमा आएर पसिना बगाउने रहर कसलाई पो हुन्छ र ? देशमा काम गर्ने वातावरण नहुँदा लाखाँै नेपालीहरु विदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य भएका छन् ।
आफ्नै गाउँ घरमा पसिना बगाउन चाहना हुँदाहुँदै पनि देशको राजनीतिक अवस्थाका कारण विदेशीनु परेको सिक्किममा भेटिएका दोलखाका ४५ वर्षीय कृष्णबहादुर अधिकारीले बताए । ‘के गर्ने काम गरेर पनि खान लाउन पुग्दैन नेपालमा । अर्काको देशमा आएर ‘सिक्किमे भरिया’ बन्नुपरेको छ’, उनले दुःखेसो पोखे ।
नेपालमा भारतीयहरु जसले तल्लो दर्जाको काम गर्छन् तिनीहरुलाई भैया भनेजस्तै त्यहाँ भरिया नेपालीलाई दाइ भन्ने चलन छ । यस्ता नेपाली दाइका प्रतिनिधि पात्र हुन् अधिकारी । आफ्नो उमेरको दुई तिहाई उमेर (३० वर्ष) सिक्किममा भारी बोकेरै बिताएका उनी चार÷पाँच वर्षको एक पटक घर फिर्ने गरेको बताउँछन् । सिक्किमको गान्तोकको एक मदिरा पसलमा भरियाको काम गर्ने उनलाई सबैले दाइ भनेर बोलाउँछन् ।
‘चुनावको बेला गएको थिएँ, भोट हालेर आएको संविधान बनाउलान् कि भनेर तर देशलाई लुटेर गए, संविधान दिन सकेनन्’, उनले आक्रोश पोखे, ‘केही गर्लान् कि भन्ने लागेको थियो तर भएन ।’ अधिकारीमात्र होइन, अधिकांश नेपालीहरु सिक्किममा तल्लो दर्जाको काम गरेर आफ्नो जीवन चलाएका छन् । उनीहरु सबैको एउटै परिचय बनेको छ साझा दाइ ।
सायद देशको अवस्था राम्रो भएको भए यी नेपालीहरु अर्काको देशमा आएर तल्लो दर्जाको काम गर्नु पर्दैनथ्यो होला ? दोलखाकै अर्का एक २५ वर्षीय सुन्दर कार्कीले गाउँमा बस्ने वातावरण नहुँदा भारत आउनु परेको बताए । ‘कसलाई रहर हुँदैन र आफ्नै देशमा बस्ने ?’, उनले प्रश्न गर्दै थपे, ‘परिवारसँग बसेर दुःख सुख साट्ने मेरो पनि त रहर थियो नि ।’ द्वन्द्वको समयमा १६ वर्षको उमेरमा सिक्किम पसेका उनी अहिले यतैको रमाइलोमा भुलिसकेको बताउँछन् ।
‘कहिले कुन पक्ष आउथ्यो, कहिले कुन आँउथ्यो, खाली डरमात्र हुन्थ्यो’, कार्कीले भने ‘यता आएपछि दुई–चार पैसा पनि भयो, डर पनि रहेन ।’ देशमा भएको द्वन्द्वले विस्तापित हुनु परेको तितो अनुभव छ उनीसँग । संविधानसभाको चुनावपछि केही हुन्छ कि भन्ने उनलाई पनि लागेको थियो ।
‘अब त गाउँमा नै गएर काम गर्न पाइन्छ कि भन्ने लागेको थियो तर पनि त्यस्तो हुन सकेन’, उनले भने । जनताहरु राजनीतिको फोहोरी खेलबाट आजित भएको भन्दै भष्टाचार नगरी देशको हित सोच्न उनले नेताहरुलाई आग्रह गरे । यहाँबाट चुनावमा भोट हाल्नकै लागि भनेर गाउँ गएका उनलाई पनि संविधान बन्न नसकेकोमा दुःख छ ।
यसरी देशको राजनीतिक संक्रमणका कारण कैयौं नेपाली पाखुराहरु विदेशी भूमिमा तल्लो दर्जाको काम गरेर बस्न बाध्य छन् । तिनीहरुलाई नेपाल फर्काएर नेपालको विकासमा प्रयोग गर्नेतर्फ सरकारले सोच्न आवश्यक देखिन्छ ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी