Sunday, August 19, 2012

चेपाङहरु खानेपानी किनेर खान बाध्य

 होमनाथ सापकोटा

पदमपुर । गरिबीका कारण मजदुरी गरेर जीवनयापन गरिरहेका पदमपुरका चेपाङहरुले खानेपानी किनेर खान बाध्य भएका छन् ।
बिहान बेलुका हात मुख जोर्न मुस्किल पर्ने पदमपुरको २०० विगाहा क्षेत्रमा बस्दै आएका चेपाङहरुले खानेपानी किनेर खान बाध्य भएका हुन् । ऐलानी जग्गामा बस्दै आएका चेपाङहरुले धारा गाड्न सक्ने अवस्था नरहेकाले दिनभरी मजदुरी गरेर ल्याएको पैसाले खानेपानी किनेर खाने गरेका छन् ।
पदमपुर स्थानान्तरण गर्दा जंगल फाडिएको सो क्षेत्र पदमपुर र जुटपानी गाविसमध्ये कुन गाविसअन्तर्गत पर्छ भन्ने यकीन नभएकाले विकासका पूर्वाधारहरु निर्माण हुन सकेका छैनन् । चरम आर्थिक संकटका कारण धारा गाड्न नसकेर सो क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायले पानीको अभाव झेलिरहेका छन् ।
राष्ट्रिय निकुञ्जले राप्ती पारीको पदमपुर गाविसलाई स्थानान्तरण गरी सो ठाउँमा ल्याएपछि फँडानी गरेर स्थानीयवासीलाई जग्गा सट्टाभर्ना गरेपछि जुटपानी नजिकै रहेको २०० विगाहा क्षेत्रफल बराबरको जमिन बाँकी रहेको थियो । बाँकी रहेको ऐलानी जमिनमा चितवन, मकवानपुर र धादिङका विभिन्न पहाडी बस्तीबाट चेपाङहरु आएर बसेका छन् ।
सोक्षेत्रमा बसोबास गर्ने २०० घरधुरीका चेपाङहरुले खानेपानी किनेर खान बाध्य भएका छन् । ‘सक्नेले २ घण्टा हिँडेर दाहाखानी–९ स्थित भालुमारेझुलको कुवाबाट पानी ल्याएर खाने गरेका छन्’ स्थानीय रामबहादुर चेपाङले भन्नुभयो, ‘नसक्नेले दिनभरी मजदुरी गरेर ल्याएको पैसाले पानी किनेर खाने गरेका छन् ।’
दुई घण्टाको बाटो हिँडेर पानी ल्याउन चेपाङलाई सजिलो छैन । ‘पानी लिन जाने या आउनेक्रममा बाटोमा थुप्रै समस्या झेल्नु परेको छ । छोरी बुहारी र श्रीमतीलाई पठाउँदा आवरा केटाहरुको डर हुने गरेको छ’ रामबहादुर चेपाङले बताउनुभयो । पानी लिन जाने समस्याका कारण सोक्षेत्रमा बसोबास गर्ने अधिकांश चेपाङहरुले पानी किनेर खाने गरेको उहाँले बताउनुभयो ।  
लामो समयसम्म सो ठाउँमा पानीको अभाव भएपछि स्थानीय लीलाधर भट्टराई र बलिभद्र कँडेलले चेपाङहरुलाई बिहान बेलुका पानी बेच्ने गरेका छन् । भट्टराई र कँडेलले बोरिङ गाडेर पानी निकाली गाउँलेलाई बेच्ने गरेका हुन् ।
उनीहरुले २० लिटरको जर्किनको पानी ५ रुपैयाँमा बेच्ने गरेका छन् । एकजना चेपाङले दिनभर मजदुरी गरेर २५० कमाउँछ । दिनभरी कमाएको रकममध्ये ५० रुपैयाँ पानीमा खर्च गर्ने गरेका चेपाङलाई दिनभरीको कमाइले बिहान बेलुका हातमुख जोर्न मुस्किल हुने गरेको स्थानीय रामबहादुर चेपाङले बताउनुभयो ।
सो ठाउँमा खानेपानी, बिजुली बत्ती, विद्यालय जस्ता कुनै पनि भौतिक पुर्वधारको विकास हुन सकेको छैन । केही वर्षअघि मात्र एक गैरसरकारी संस्थाको सहयोगमा प्राथमिक विद्यालय सञ्चानलमा आएपछि चेपाङ बालबालिकाले अक्षर चिन्ने मौका पाएका छन् ।
सरकारी वेवास्ताका कारण अझैपनि कुनै भौतिक पूर्वधारको विकास भइनसकेको सो ठाउँमा खानेपानीको झन् विकराल समस्या रहेको छ । सरकारले वेवास्ता गरेपनि स्थानीयहरुको आफ्नै पहलमा खानेपानी आपूर्ति गर्न प्रयास गरिएको भएपनि खानेपानीको एथोचित स्रोत नभेटिनाले त्यहाँका चेपाङलगायत अन्य जातजातिका स्थानीयहरु पानीको अभावमा काकाकुलको जीवन जिउन बाध्य भएका छन् ।
‘एकाबिहानै साइकलमा जर्किन झुण्डाएर दुई घण्टाको बाटो दाहाखानी–९ स्थित भालुमारेझुलको कुवामा नगए पानी खान पाइँदैन’ बाह्रै महिना ज्यामी काम गरेर परिवार पाल्दै आएका स्थानीय मनराम चोपाङले बताउनुभयो । वर्षाभर त लामै लाइन लागेर भएपनि सोही कुवाको पानी खाइन्छ, हिउँद लागेपछि सो कुवा पनि सुक्ने हँुदा पानीको अभाव झेल्नु परेको उहाँको भनाइ रहेको थियो ।
‘लामो बाटो भएकाले दिनहुँ भालुमारेझुलको कुवाबाट पानी ल्याउन सक्ने अवस्था छैन’ उहाँले भन्नुभयो, ‘त्यही भएर मजदुरी गरेर ल्याएको पैसाले पानी किन्नुपर्ने बाध्यता रहेको छ ।’ पदमपुर स्थानान्तरण गर्दा जंगल फाँडिएको सोक्षेत्र कुन गाविसअन्र्तगत पर्छ भन्ने यकीन नभएकाले त्यहाँ विकास योजनाहरु पुग्न सकेका छैनन् ।
सुकुमबासी मात्र होइन हुकुमबासीहरुको पनि बसोबास रहेकाले सोक्षेत्रको विकासको लागि सरकारी निकायले वेवास्ता गरिरहेको छ । त्यसको प्रत्यक्ष मार विपन्न चेपाङ समुदायले खेप्नु परेको छ ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी