Wednesday, August 22, 2012

प्राधिकरणको साढे छब्बीस करोड बक्यौता

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्ष २०६८÷०६९ मा २६ करोड, ६९ लाख ७ हजार ६७३ रुपैयाँ ४० पैसा बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । केन्द्रका अनुसार गत आर्थिक वर्षमा विद्युत् महसुल नर्तिने ४२३ जना ग्राहकहरुलाई कालोसूचीमा राखिएको छ ।
उनीहरुबाट एक करोड १३ लाख दस हजार ७७९ रुपैयाँ ६३ पैसा उठाउन बाँकी रहेको केन्द्रका लेखा अधिकृत भगवान ढकालले जानकारी दिनुभयो । यसरी बक्यौता नतिर्नेहरुमा उद्योगी व्यवसायीहरु बढी रहेको उहाँले जनाउनुभयो ।
यसरी बक्यौता नतिर्ने ग्राहकलाई कालोसूचीमा राखेर लाइन काट्ने काम केही दिनमा नै सुरू हुने ढकालले बताउनुभयो । यसले चोरी नियन्त्रणमा समेत सहजता ल्याउने उहाँको भनाइ छ ।
यसैबीच नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गरेको आरोपमा पश्चिम चितवनका ३१ जनालाई कारबाही गरेको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत टोलीले बुधबार पश्चिम चितवनको जगतपुरबाट २३, शुक्रनगरबाट सात र पार्वतीपुर बाट एक जनालाई पक्राउ गरी कारबाही गरेको हो । पक्राउ पर्नेमा आठ महिलासमेत रहेका छन् ।
बुधबार बिहान साढे ३ बजेदेखि नै खटिएको टोलीले टेलिभिजन सेट एकथान, र पानी तान्ने मोटर दुईथानसमेत बरामद गरेको छ । टोलीमा जनपथ प्रहरी, सशस्त्र प्रहरी र प्राधिकरणका कर्मचारी रहेका थिए ।
प्राधिकरणले कार्तिक २२ गतेदेखि सुरू गरेको विद्युत् चुहावट अभियानपछि जिल्लामा विद्युत् चुहावटमा कमी आए पनि पूर्णरुपमा नियन्त्रण हुन भने सकेको छैन । हुकिङमार्फत विद्युत् चोरी गर्नेक्रम निकै घटेपनि मिटर बक्सबाट नै चोरी गर्नेहरु समेत भएकाले नियन्त्रणमा कठिनाइ भइरहेको प्राधिकरण भरतपुर शाखाका प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई नियमबमोजिम जरिवाना तिराइ छाडिएको छ । कार्तिक महिनादेखि सुरू भएको अभियानका क्रममा हालसम्म करिब ७५ लाख रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी