Wednesday, August 22, 2012

पूर्वमन्त्री खड्का कारागार चलान

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहरिएका पूर्वमन्त्री एवम् नेपाली काँगे्रसका केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार कारागार चलान हुनुभएको छ । खड्कालाई गत साउन ३० गते सर्वोच्च अदालतले डेढ वर्ष कैद र रु. ९४ लाख ७४ हजार १२२ जरिवाना र सोही बराबरको बिगो बुझाउनुपर्ने फैसला गरेको थियो ।
कानुन व्यवसायी र केही सहयोगीकासाथ दिउँसो २ः१५ बजे काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित भई उहाँले धरौटीवापत रु ७५ लाख ८९ हजार रुपियाँ नगद बुझाउनुभएको थियो । उहाँले रु १८ लाख ९४ हजार छुट पाउनुभएको छ ।
खड्काका शुभेच्छुकहरुले प्रदर्शन गर्ने आशङ्कामा प्रहरीले अदालत परिसरमा उच्च सुरक्षा सतर्कता अपनाएको थियो । खड्का पुगेपछि अदालत प्रवेश गर्ने मूलढोका नै बन्द गरिएको थियो । खड्का ललितपुरको सानेपास्थित निवासबाट समर्थक र सहयोगीहरुका साथ जिल्ला अदालत आउनुभएको थियो ।
खड्काले कैद सजायमा पनि २० प्रतिशत छुट पाउनुभएको छ । अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयम् उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानुनी व्यवस्था रहेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाएको थियो । खड्काले अब एक वर्ष दुई महिना नौ दिनमात्रै कारागार बस्नुपर्नेछ । उहाँ विसं २०७० कात्तिक १४ गते कारागारमुक्त हुनुहुनेछ ।
यसैबीच अदालत परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको र सुनियोजितरुपमा फसाइएको आरोप लगाउनुभयो । ‘सर्वोच्चको फैसलामा मेरो विमति रहे पनि कानुनी राजलाई सम्मान गर्छु’, धरौटी बुझाएर बाहिर निस्कनेक्रममा उहाँले भन्नुभयो, ‘मलाई अन्याय भएको छ, विद्वान दुई जना मित्रहरुले सुनियोजितरुपमा फैसला गर्नुभयो ।’
खड्काले आफूले दाङमात्र नभई पूरै मुलुकको हितमा काम गरेको दावी गर्दै राम्रो काम गर्नेलाई सजाय दिइएको भनी गुनासोसमेत पोख्नुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी