Wednesday, August 8, 2012

मायाज बार ः लडाइँको भार

चलचित्र समिक्षा
चलचित्र ः मायाज बार
कलाकारहरु ः गजित विष्ट, निशा अधिकारी, राजेश हमाल, दिनेश डि.सी.
निर्देशक ः दिनेश डिसी
नेपाली परिवेशमा अझै पनि घरकी श्रीमती अथवा बुहारीले नोकरी गरेको पाच्य हुँदैन । घरकी छोरी, बुहारी अन्त काम गर्न थालेमा बिग्रन्छन् रे भन्ने मान्यता अझै यथावत् रहिआएको पाइन्छ । अझै घरकी छोरी, बुहारी रक्सी अनि चुरोटको नशामा डुब्न थालेपछि त्यो घर के घर रहला र ! अन्तमा श्रीमान्श्रीमतीको फाटो पनि यसै कारण हुन पुग्दछ र एकअर्कोसँग सम्बन्ध–विच्छेद गर्न पनि पछि पर्दैनन् । यस्तै कथाको सेरोफेरोमा घुमेको छ ‘मायाज बार’ ।
आफ्नो श्रीमतीको लागि जे गर्न पनि पछि नपर्ने श्रीमान्लाई यस चलचित्रले केही रुपमा पनि सन्तोषको सास फेर्न लगाउँछ तर आफ्नो ज्यान जोखिममा पारेर घरको ऋण तिर्न पछि नपर्ने श्रीमान्लाई चटक्क छोडेर हिँड्ने श्रीमतीहरुका लागि भने यो चलचित्र तीतो करेलाजस्तो लाग्न पुग्दछ ।
‘मायाज बार’ले काठमाडौँभित्र मौलाइरहेको डान्स बार अनि रेसलिङ खेलाएर पैसा जित्नेहरु र रगत बगाउनेहरुको कथालाई अगाडि बढाएको छ । केटीहरु त्यसै डान्स गर्न बारभित्र छिर्दैनन् र केटाहरु आफ्नो रगत बगाएर पैसा कमाउन चाहँदैनन् । घरको आर्थिक समस्या अनि श्रीमतीको चाहना पूरा गर्नका लागि उनीहरु यसतर्फ लागिपरेको विषयवस्तु चलचित्रले उठान गरेको छ भने केटीहरु टाढाबाट पढ्न आउने तर उचित रोजगार नपाएपछि आफ्नो पेट पाल्न र कलेजको शुल्क अनि अहिलेको भड्किलो फेसन आफूमा लागू गर्नका लागि उनीहरु धेरै पैसाको खोजीमा डान्स बारभित्र छिरेर काम गर्ने गरेको कुरा चलचित्रले छाडेको छ ।
यही साउन १५ गते काठमाडौँ र १८ गते मोफसलका साना–ठूला गरी ४० वटा सिनेमाहलहरुमा लागिरहेको यस चलचित्रका निर्माता सुनिल मानन्धर हुन् । नेपाली चलचित्रमा नयाँ ट्रेन्ड बोकेर अगाडि बढेको हल्ला गरिएता पनि यस चलचित्र पनि पुरानै धारअन्तर्गत नै रहेको छ ।
कथावस्तु ः गजित (गजित विष्ट) र माया (निशा अधिकारी) श्रीमान्श्रीमती दुवै बेरोजगारीका कारणले आफ्नो बच्चाको स्कुलको शुल्क तिर्न र बैंकबाट लिएको ब्याज बुझाउन नसक्दा बैंकबाट बारम्बार फोन आइरहन्छ । यसरी घरको आर्थिक स्थिति कमजोर हुँदै गएपछि गजित काठमाडौँमा रहेको फाइट क्लब्मा फाइट खेल्न जान्छ र त्यहाँबाट केही पैसा ल्याई मायालाई दिन्छ । तर माया भने गजितले फाइट खेलेर घरको जोहो गरेको मन पराउँदिनन् । तर लाखौँ कोसिस गर्दा पनि गजित फाइट खेल्न नछोड्ने भएपछि माया वाक्क हुन्छिन् । उता गजित हरेक फाइटरलाई जित्दै जान्छ र काठमाडौँका नामुद डन निलोक राना (राजेश हमाल) को फाइट क्लबमा मासिक तलबमा अनुबन्धित हुन्छन् । यता माया पनि गजितले आफ्नो कुरा नमानेपछि करिश्मा मानन्धरको डान्स बारमा नाच्न पुग्दछिन्, जुन कुरा गजितलाई थाहा हुँदैन । करिश्माको डान्स बारमा नाच्दानाच्दै माया पनि त्रिलोक रानाको नजरमा पर्छिन् । त्रिलोक रानाले मायाकै नाममा मायाज बार खोलेर मायालाई आफ्नो बारमा अनुबन्ध गर्छन् । गजितले हरेक गुन्डाहरुको फाइटरलाई जित्दै गएपछि गजित एक नम्बरको रोजाइको फाइटरमा पर्दछन् । गजितले माया डान्स बारमा काम गर्ने थाहा पाएपछि उनीहरुबीच मनमुटाव हुन्छ र माया आफ्नो बच्चालाई लिएर गजितसँग छुट्टिन्छन् । आफ्नो फाइटर एकाएक हार्दै गएपछि गजितको छोरालाई गुन्डाहरुले अपहरण गर्दछन् । उनीहरुको माग गजितले आफ्नो फाइटरसँग हार्नुपर्ने हुन्छ । यसरी गजित फाइट क्लबमा लड्न पुग्दछ । त्यसपछि के हुन्छ त ? के गजितले त्यो फाइट हार्ला त ? अनि उसको छोरालाई कसले बचाउँछ ? गजित र मायाको फेरि मिलन होला ? यी सबैको निष्कर्ष हेर्न तपाईंहरु गणेश चलचित्र मन्दिरसम्म पुग्नै पर्दछ ।
सकारात्मक पक्ष ः चलचित्रका गीत÷संगीत राम्रा रहेका छन् । सुरेश अधिकारीको संगीतमा नौलोपना देखिएको छ । द्वन्द्वनिर्देशक एनबी महर्जनले आफूलाई सशक्त रुपमा अघि सारेका छन् । चलचित्रको द्वन्द्व कलात्मक रुपमा देखाइएको छ । छायांकनमा चलचित्र राम्रो रहेको छ । पुरूषोत्तम प्रधानको छायांकन जादुमयी रहेको छ ।
कमजोर पक्ष ः आलिसान महलमा बस्ने र आइफोन बोक्नेले स्कुलको शुल्क तिर्न नसकेको कुरा अपत्यारिलो छ । हरेक पटक हिरोको मात्र जित देखाउनु अचम्म लाग्न सक्दछ । चलचित्रको कथावस्तु एकतिर र नाम एकातिर रहेको छ । करिश्मा मानन्धर र राजेश हमाललाई टाउको बेच्न मात्र राखिएको छ । उनीहरुको काम चलचित्रमा केही पनि देखिँदैन ।
निष्कर्ष ः ठूला–ठूला कुरा गरेर चलचित्र चल्दैन । लाखौँ रूपैया कमाएता पनि चलचित्रले कुनै न कुनै सकारात्मक कुरा छोड्नै पर्दछ, जुन कुरा दिन दिनेश डिसी यस चलचित्रमा असफल भएका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी