Wednesday, August 8, 2012

बयासी प्रतिशत विद्यार्थी दुव्र्यसनी ः तथ्याङ्क

भरतपुर । नेपालमा ८२ प्रतिशत स्कुले विद्यार्थीहरु लागूऔषध दुव्र्यसनीमा फसेको लागूऔषध नियन्त्रणको क्षेत्रमा काम गर्ने संस्था ‘नार्काेनन’ले तथ्याङ्क निकालेको छ ।
बुधबार भरतपुरमा प्रहरी प्रधान कार्यालय तथा नार्कोनन नेपालले सञ्चालन गरेको देशव्यापि लागूऔषधविरुद्धको अभियानको सन्र्दभमा आयोजित प्रशिक्षण गोष्ठीमा नार्काेनन नेपालका राष्ट्रिय निर्देशक तथा पूर्ववरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले यस्तो जानकारी दिनुभएको हो ।
नेपालमा करिब एक लाख ५० हजार लागूऔषधका दुव्र्यसनी रहेकोमा कक्षा सातदेखि प्लस टुसम्मका एक लाख सात हजार विद्यार्थीहरु दुव्र्यसनमा फसेको उहाँको भनाइ थियो । करिब नौ प्रतिशत प्लस टु पास भएका विद्यार्थीहरु यसको दुव्र्यसनमा फसेको कुँवरले जानकारी दिनुभयो । यसमध्ये करिब २६ हजार महिला दुव्र्यसनमा फसेकोमा ९० प्रतिशत केटा साथीको आग्रहमा दुव्र्यसनी भएको उहाँले बताउनुभयो ।
अहिले लागूपदार्थ दुव्र्यसनीमा युवाहरुमा सामान्यमात्र नभई पढेलेखेका र धनाढ्य परिवारका बढी भएको पूर्ववरिष्ठ प्रहरी उपरीक्षक कुँवरको भनाइ थियो । ‘अहिले के सामान्य के असामान्य भन्ने नै रहेन, हामीकहाँ उपचारका लागि आउनेहरु डाक्टर, पाइलटदेखि धनाढ्य घरानाका छन्’, उहाँले भन्नुभयो, ‘हरेक वर्गलाई यसले प्रभाव पारिसकेको छ, परिवारलाई यसबारेमा जानकारी नै छैन् ।’ प्रहरी तथा उच्च सरकारी पदमा पुगेकाहरु पनि दुव्र्यसनमा फसेको उहाँले बताउनुभयो ।
नेपाल सरकारले ४४ हजार नेपाली दुव्र्यसनीमा फसेको तथ्याङ् सार्वजनिक गरेको छ । अहिले समाजमा लागूऔषध बढाउने र नियन्त्रण गर्नेबीच युद्ध चलेको कुुँवरको भनाइ थियो । ‘समाजमा एकथरी लागूऔषध बढाउन चाहन्छन्, उनीहरु लागूऔषधले सकारात्मक प्रभाव पार्ने भन्दै भ्रम फैलाउँदै छन्’, उहाँले भन्नुभयो, ‘लागूऔषधको बारेमा ज्ञान नै नभएको समाजमा उनीहरुले प्रभाव फैलाउँदै गइरहेका छन् ।’
समाजमा लागूऔषधको बारेमा ज्ञान नै नभएका कारण समस्या उत्पन्न भएको राष्ट्रिय निर्देशक कुँवरको भनाइ छ । लागूपदार्थबारे घरघरमा ज्ञान फैलाउन आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यालयमा अन्य विषयको पढाइ भएजस्तै लागूऔषधको बारेमा पनि पढाइ हुनुपर्ने उहाँको धारणा थियो ।
विद्यालयलाई लागूऔषधमुक्त क्षेत्रको रुपमा विकास गरेर विद्यार्थीलाई सचेत बनाउनुपर्ने उहाँको भनाइ थियो । ‘दुव्र्यसनमा फसेका विद्यार्थीहरुलाई छुट्टै २१ दिनको ड्रगको कक्षा सञ्चालन गर्ने तयारीमा रहेका छौँ’, कुवँरले भन्नुभयो । त्यसका लागि पाठ्यक्रमको निर्माण अन्तिम तयारीमा पुगेको उहाँले जानकारी दिनुभयो । नेपालमा विभिन्न वहानामा लागूऔषध बढिरहेको उहाँको भनाइ थियो ।
यसैबीच कार्यक्रममा लागूऔषध नियन्त्र जिल्ला समिति चितवन गठन भएको छ । प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको संरक्षकत्वमा गठित समितिमा स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोला, सल्लाहकार, प्रहरी उपरीक्षक भूपालकुमार भण्डारी संयोजक, प्रहरी नायव उपरीक्षक रवि पौडेल सदस्य सचिव रहनेगरी समिति गठन गरिएको हो ।
१७ सदस्यीय समितिमा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, जिल्ला जनस्वास्थ्य प्रमुख केहरसिंह गोदार, पत्रकार महासंघका अध्यक्ष जनक अर्याल, बारका अध्यक्ष राजकुमार श्रेष्ठ, समुदायिक सेवा केन्द्रकी अध्यक्ष मीना खरेल सदस्य रहनुभएको छ ।
त्यस्तै अन्य सदस्यहरुमा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सहन प्रधान, नागरिक समाजका केदार मल्ल, प्याव्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङ, शिक्षक युनियनका अध्यक्ष कृष्णप्रसाद सापकोटा, गाविस सचिव हकहित संरक्षण मञ्चका वेदप्रकाश बजगाईं, नगरस्तरीय टोल सुधार समन्वय संस्थाका हिरामणि अधिकारी, जिल्ला एड्स समन्वय समितिका निर्देशक रामहरि न्यौपाने र रिकभरी नेपालका सुविन्द थापा रहनुभएको छ ।
समितिले गाविस तथा नगरका वडाहरु र विद्यालयमा तदर्थ समिति गठन गर्दै अगाडि बढ्ने नवगठित समितिका संयोजक भण्डारीले बताउनुभयो ।
प्रहरी प्रधान कार्यालय र नार्काेनन मिलेर देशव्यापिरुपमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ । अभियानअन्तर्गत बागमती अञ्चलका सबै जिल्लामा जिल्ला समिति निर्माण भइसकेको प्रहरी प्रधान कार्यालयका लागूऔषध नियन्त्रण डेक्सका प्रहरी नीरीक्षक मधुसुदन दवाडीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत छ महिनाभित्रमा सबै जिल्लाहरुमा समिति गठन गर्ने उहाँले बताउनुभयो । अभियानकै क्रममा दार्चुला जिल्लाका नौवटा गाविसमा समिति गठन भएको दवाडीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी प्रमुख अतिथि रहेको कार्यक्रमको संयोजन जिल्ला प्रहरी कार्यालयले गरेको थियो । गोष्ठीमा नार्काेननका राष्ट्रिय निर्देशक कुँवरले सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी