Friday, August 17, 2012

चेपाङ समुदायका लागि आवास गृह

हेटौंडा । मकवानपुर जिल्लाको पश्चिम भेगका छ गाविसमा पिछडिएका चेपाङ समुदायका लागि सरकारले जनता आवास कार्यक्रमअन्तर्गत दोस्रो चरणमा १२५ वटा नयाँ आवासगृह निर्माण सुरू गरेको छ ।
जिल्लाका सरीखेत पलासे, काँकडा, भार्ता, मनहरि, बसामाडी र राक्सिराङ गाविसमा आवास गृह बन्न लागेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले ती गाविसको छनोट गरेको थियो ।
सरकारले दोस्रो चरणमा जनता आवास कार्यक्रमअन्तर्गत विपन्न चेपाङ समुदायका लागि नयाँ आवासगृह निर्माण गर्न भवन तथा प्रविधि अनुसन्धान तालिम केन्द्र हेटौँडालाई रु दुई करोड ४७ लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले ती प्रत्येक चेपाङ परिवारलाई आवासगृह निर्माण गर्न रु एक लाख ५५ हजार ८०० अनुदान उपलब्ध गराएको छ ।
प्रत्येक घरपरिवारले आफ्नो घर निर्माण गर्न करिब रु १० हजार बराबरको श्रमदान बेहोर्नुपर्ने स्थानीय आवासगृह निर्माण उपभोक्ता समिति मकवानपुरले जनाएको छ । आगामी पुस मसान्तसम्म नयाँ आवासगृह निर्माण गरी सम्बन्धित चेपाङ परिवारलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ निर्माण काम भइरहेको भवन प्रविधि तथा अनुसन्धान तालिम केन्द्र हेटौंडाका निमित्त प्रमुख प्रवीण टण्डनले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी