Thursday, August 30, 2012

भाउवृद्धिसँगै सुनको कारोवारमा कमी



विधुर ढकालनारायणगढ । नेपाली नारीहरुको महान चाड तीज नजिकिँदै जाँदा सुनको भाउमा भएको वृद्धिले अघिल्ला वर्षमा भन्दा कारोवारमा कमी आएको छ । वर्षका अन्य दिनहरुमा भन्दा कारोवार केही बढे पनि अघिल्ला वर्षको तुलनामा बीस प्रतिशतले कमी आएको व्यवसायीहरु बताउँछन् ।
‘अरु दिनमा भन्दा अहिले कारोवारमा केही वृद्धि भएको छ तर पनि अघिल्ला वर्षहरुमा भन्दा कमी आएको छ’, नारायणगढको मिलनरोडमा रहेकोे हरेराम हरेकृष्ण सुनचाँदी पसलका सञ्चालक अमृतमान शाक्यले भन्नुभयो । यस वर्ष  अघिल्ला वर्षमा भन्दा २० प्रतिशतले कारोवारमा मन्दी छाएको उहाँको भनाइ छ ।
अघिल्ला वर्षहरुमा चाडपर्वको बेलामा अरु दिनहरु भन्दा ७५ देखि ८० प्रतिशतसम्म कारोवार बढ्ने गरेको यस वर्ष ५० देखि ६० प्रतिशतको हाराहारीमा कारोवारमा वृद्धि भएको शाक्यले जानकारी दिनुभयो । सुनको भाउमा वृद्धि भए पनि भनेको बेलामा खरिद गर्न नपाएको उहाँको गुनासो छ ।
नेपालमा दिनमा २० किलो जति सुन भित्रिए पनि उक्त परिमाणको सुन काठमाडांै उपत्यकामा नै खपत हुने उहाँले बताउनुभयो । ‘हामीहरु यहाँबाट काठमाडांै जाँदा खर्च पनि बढ्छ तर पैसा तिरेर पनि हामीले किन्न पाएका छैनाँै’, शाक्यले भन्नुभयो ।
खरिद प्रक्रिया पनि झन्झटिलो लामो रहेको उहाँको आरोप छ । व्यवसायीहरुले सुन किन्दा काठमाडांैका बैंकमा खाता खोलेर पैसा जम्मा गरेको १० दिन लाइनमा बसेरमात्र पाउने उहाँले जानकारी दिनुभयो ।
राष्ट्र बंैकले सुनचाँदी बिक्रीको जिम्मा स्टान्डर्ड चार्टड बंैक, लक्ष्मी बैंक र सेञ्चुरी बैंकका काठमाडांै कार्यालयलाई दिएको छ । व्यवसायीहरुले भने स्थानीय बंैकबाट पनि कारोवार गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।
यता, सुनको भाउमा वृद्धि भएसँगै पुरानो सुन बेच्ने ग्राहकहरुमा वृद्धि भएको सञ्चालक शाक्यले बताउनुभयो । पुराना गहना ल्याएर नयाँ गहना लैजाने ग्राहकहरुको सख्या वृद्धि भएको उहाँको भनाइ छ ।
यता, सुनको बिक्रीभन्दा खरिद बढी भएको जयसन्तोषीमा सुन चाँदी पसल नारायणगढका सञ्चालक ईश्वरलाल रामुदामुले बताउनुभयो । ‘पुराना सुन बेच्नेहरु बढेका छन्, हाम्रो खरिदभन्दा बिक्रीमा केही कमी आउँदा समस्या भएको छ’, उहाँले भन्नुभयो ।
व्यवसायीलाई सुरक्षाको प्रत्याभूति नहुँदा पुरानो कलात्मक व्यवसाय नै धरापमा पर्ने चिन्ता व्यवसायीहरुमा देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि हुँदा सुनको मूल्यमा समेत वृद्धि हुने गर्दछ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५९ हजार २०० रहेको सुन चाँदी व्यवसायी संघ नारायणगढले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी