Tuesday, September 11, 2012

चितवनमा फैलिएको ज्वरो इन्फ्लुयन्जा ‘बी’,डेढ महिनायता छ जनाको मृत्यु

भरतपुर । चितवनमा फैलिएको ज्वरो इन्फ्लुयन्जा ‘बी’ भएको सरुवा रोग महाशाखाको अध्ययन टोलीले जनाएको छ । महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विश्ववराज खनालको नेतृत्वमा रहेको टोलीले भरतपुरमा मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा सो कुराको जानकारी दिएको हो ।
टोलीले तीन दिनदेखि चितवनमा ज्वरोको अवस्था अध्ययन गरेको थियो । कार्यक्रममा भरतपुरका तीन ठूला अस्पतालमा केही समययता ६ जनाको मृत्यु भइसकेको जानकारी दिइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले संकलन गरेको तथ्याङ्कमा पछिल्लो एक हप्तामा दैनिक औसत ६२ देखि १०३ जनासम्म अस्पतालमा आएको जनाएको छ । जसमध्ये सबैभन्दा कम भाद्र २४ गते ६२ जना र बढी भाद्र २२ गते १०३ जना रहेको कार्यालयका भेक्टर कन्ट्रोल इकाइका प्रमुख राम केसीले जानकारी दिनुभयो ।
यसरी चितवनमा फैलिएको ज्वरोको लक्षण हेर्दा इन्फ्लुयन्जा ‘बी’ रहे पनि यो कुन प्रकार हो भन्नेबारे अनुसन्धानबाट मात्र खुल्ने इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक रमेश लामिछानेले बताउनुभयो । शाखाले बिरामीहरुबाट नमुना लिएर आज बुधबार महाशाखा पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
उपचारका क्रममा मृत्यु भएका तीन जना चितवनका रहेका छन् भने अन्य तीन जना जिल्ला बाहिरका हुन् । यसरी मृत्यु हुनेहरुमा चितवन मेडिकल कलेजमा तीन जना, मेडिकल कलेज भरतपुरमा एक जना र भरतपुर अस्पतालमा दुई जनाको उपचारको क्रममा मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।
डेढ महिनायता फैलिएको ज्वरोले उनीहरुको मृत्यु भएको हो ।
विगतको तुलनामा चितवनमा ज्वरो नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा भन्दा यस वर्ष विरामीहरुको संख्यामा कमि रहे पनि यो फैलन सक्ने चिकित्सकहरुले बताएका छन् । ‘अघिल्ला वर्षको तुलनामा यस वर्ष भाइरलको संक्रमण केही कम त देखिएको छ तर पनि अघिल्ला वर्षहरुमा महामारि फैलिएको समय आउन अझ बाँकी रहेकोले यो यत्तिकै रहला भन्न सकिन्न्’ चितवन मेडिकल कजेल भरतपुरका फिजिसियन डा. शितल अधिकारीले भन्नुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी