Thursday, September 13, 2012

एआरभीले नयाँ जीवन पाउँदै एचआईभी संक्रमित

विधुर ढकालभरतपुर । एचआईभी संक्रमणका कारण बाच्ने आशा हराइसकेका भरतपुरका सवनम थापा (नाम परिवर्तन)ले यति बेला नयाँ जीवन पाएको अनुभव गर्नुभएको छ । भरतपुर अस्पतालले एचआईभी संक्रमितहरुका लागि सुरू गरेको एआरटी क्लिनिकमा उपचारपछि उहाँले यस्तो अनुभव गर्नुभएको हो ।
पहिले नाम सुन्दा सबै परपर भाग्नेहरु अहिले नजिक सर्न थालेको उहाँको अनुभव छ । ‘समय बदलिएको जस्तो लागेको छ, पहिले आफन्तहरु पनि टाढा, साथीहरु पनि टाढा हुन्थे तर अहिले त्यस्तो व्यहोर्नुपरेको छैन’,आफैँ पनि जीवनदेखि भाग्दै हिँड्न थालेको बताउने उहाँले भन्नुभयो, ‘१० वर्षपछि मर्छ भन्थे, अब बाँच्छ भन्न थालेका छन् ।’ एचआईभी संक्रमण हुँदैमा मानिस नमर्ने एआरटी क्लिनिकका कन्सल्टेन्ट छाती, मुटु, तथा पेट रोग विशेषज्ञ डा.काजिदास अधिकारीले बताउनुभयो ।
‘एचआईभी भएका मानिस पनि अन्य मानिससरह देखिन्छन्’, उहाँले भन्नुभयो, ‘नियमित एआरभी सेवनले उनीहरुलाई नयाँ जीवन दिएको छ ।’ अस्पतालबाट सेवा लिइरहेकाहरु आफ्नो व्यवसाय सञ्चालन गरेर बसिरहेको समेत उहाँले बताउनुभयोे । ‘औषधि भनेको उनीहरुको नियमितको खाना हो, खाना नखाए मान्छेको अवस्था नाजुक हुन्छ, त्यस्तै औषधि नियमित नभए उनीहरुको अवस्था नाजुक हुन्छ’, डा. अधिकारीले भन्नुभयो ।
शरीरमा एचआईभी पोजेटिभ देखिएपछि नियमित जाँच गराउनुपर्ने उहाँको भनाइ छ । शरीरमा ‘सिडिफोर सेल’को संख्या कम र ‘भाइरल लोड’ बढी भएका बिरामीलाई एआरभी दिनुपर्ने उहाँले बताउनुभयो ।
हालसम्म भरतपुर अस्पतालबाट एआरभी लिनेहरु संख्या ३६३ जना पुगेको अस्पतालका एआरटी संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो । जसमध्ये १७४ जना पुरूष, १६५ जना महिला र २४ जना बालबालिका रहेको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा सेवा सुरू भएदेखि अहिलेसम्ममा ८१७ जनाको रक्त परीक्षणबाट एचआईभी पत्ता लागेको उहाँले जनाउनुभयो ।
सेवा सुरू भएको पाँच वर्षको अवधिमा अस्पतालमा एआरटी सेवा लिने ५४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा सबै ढिलो गरी आएको समेत उहाँको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनले एचआईभीका चार चरणमध्ये अन्तिम चरणमा आएकाहरुको मृत्यु भएको छ ।’, संयोजक सापकोटाले भन्नुभयो, ‘यो अवस्था जटिल अवस्था हो, त्यसैले एचआईभी भएको थाहा पाएपछि नियमित स्वास्थ्य जाँच गराइरहनु पर्दछ ।’
अस्पतालको तथ्याङ्कमा प्रत्येक महिना औसतमा नौ जना एचआईभी संक्रमितहरु सम्पर्कमा आउने गरेका छन् । संक्रमित संक्रमणमा आउनेक्रम बढ्दो रहेको समेत सापकोटाले जानकारी दिनुभयो ।
सन् २०१० मा ६५ जना संक्रमित सम्पर्कमा आएकोमा सन् २०११ मा ८० जना अस्पतालको सम्पर्कमा आएका थिए । यो वर्ष सन् २०१२ को पहिलो आठ महिनामा ७० जना सम्पर्कमा आइसकेको उहाँले बताउनुभयो ।
चितवनमा संक्रमितहरुको आधिकारिक तथ्याङ्क नभए पनि करिब दुई हजारको संख्यामा संक्रमित रहेको अनुमान छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २०११ मा नेपालमा १९ हजार ११८ जनामा रक्त परीक्षणबाट संक्रमित पत्ता लागेको उल्लेख छ ।
त्यस्तै नेपालमा अनुमानित ५० हजार २२८ जना व्यक्ति एचआईभी संक्रमित रहेको केन्द्रको तथ्याङ्कले देखाउँछ ।
एचआईभी संक्रमितहरु नियमित रुपमा एआरभी औषधि सेवन गर्ने हो भने थप एचआईभी संक्रमणमा समेत कमी आउने एआरटी संयोजक सापकोटाले जानकारी दिनुभयो । औषधि सेवनले एचआईभी संक्रमितहरुलाई समेत आममानिससरह आयु प्रदान गर्ने हुँदा एचआईभी भएको थाहा पाउनासाथ नियमित चेक गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी