Thursday, September 13, 2012

गर्मीका कारण गोहीका गुँड नै सखाप

कसरा । घडियाल गोही विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ जलचर हो । नदी प्रदूषण र माछा अभावले संकटमा परेको घडियाललाई यो वर्ष मौसमले पनि साथ दिएन । अत्यधिक गर्मी र खडेरी घडियालका लागि निकै घातक सिद्ध भएको छ ।
चितवन निकुञ्जबाट प्राप्त जानकारीअनुसार बढी तापक्रमका कारण धेरै बच्चाहरु अण्डाबाट बाहिरै ननिस्की खेर गए । निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुख वेद खड्काका अनुसार निस्केका ९० प्रतिशत बच्चा पनि अस्वस्थ र कमजोर अवस्थाका छन् ।
‘अति गर्मीले गर्दा धेरै बच्चाहरु अण्डाभित्रै मरे । जन्मेका ९० प्रतिशत बच्चा पनि लुते र कमजोर खालका छन् । त्यस्तालाई हुर्काउन निकै गाह्रो छ’, घडियाल प्रजनन् केन्द्रका प्रमुख तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेद खड्काले जानकारी दिनुभयो । गर्मीले गर्दा गोहीको गुँडका पूरै अण्डा सखाप भएका छन् ।
खड्काका अनुसार नवलपरासी अमलटारीनजिक नारायणी नदी किनारमा रहेको एउटा गुँडमा घडियालका ४० वटा अण्डा थिए । त्यो गुँडका कुनै पनि अण्डाबाट बच्चा निस्केनन् । प्रजनन् केन्द्र र प्राकृतिक अवस्थामा यस पटक घडियालका २० गुँड थिए । जसमा ६५८ वटा अण्डा थिए । त्यसमध्ये २६२ वटा अण्डाबाट मात्रै बच्चा निस्केको खड्काले बताउनुभयो ।
‘मैले गोहीको रेखदेखमा १० वर्षभन्दा बढी नै समय बिताएँ तर यस्तो खराब अवस्था कहिल्यै व्यहोरेको थिइनँ’, खड्काले सुनाउनुभयो । गोहीले चैत्रमा अण्डा पार्छ । जेठको अन्तिमदेखि असारको पहिलो हप्ताभित्र बच्चा कोरल्छ । वातावरणमा ३० डिग्री सेन्टिग्रेट तामक्रम र घाम पानीको मौसम भए गोहीले राम्रोसँग बच्चा कोरल्न सक्छ ।
तर यस पटक चितवनको तापक्रम लगभग ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा पुग्यो । त्यस्तै खडेरी पनि लामो समयसम्म प¥यो । अण्डाबाट बच्चा बाहिर निस्कने समयमा पानी परेर राम्रो हुन्छ तर यो वर्ष यो अवस्था रहेन भन्नुहुन्छ खड्का । ‘तापमक्रम बढी भएकाले बालुवाले सबै चिसो सोसेर लियो । धेरै गुँडमा हामीले पानी छर्किँदासमेत सफलता मिलेन’, खड्काको भनाइ छ ।
घडियाल सफा नदीमा बस्ने र माछा खाने जलचर हो । चितवन निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादव जुन ठाउँमा घडियाल रहन्छ त्यो ठाउँमा प्रदुषणको असर छैन भन्ने थाहा हुन्छ भन्नुहुन्छ । तर अनियन्त्रित रुपमा माछा मार्नुका साथै प्रदूषणले नदी र खोलामा आहारा नहुँदा घडियाल  घट्दै गइरहेको छ । यो जलचर गैँडाभन्दा २० गुणा बढी लोप हुने खतरामा रहेको जन्तु हो ।
‘यस्तो जलचरमाथि यस पटक झनै संकट बढ्यो’, खड्काले चिन्ता व्यक्त गर्नुभयो । स्वस्थ बच्चा जन्मे पनि हुर्काउन गाह्रो हुन्छ । खड्काका अनुसार नेपालमा हालसम्म ८६१ वटा घडियाल विभिन्न नदी र खोलामा छाडिएको छ । तर गत वर्ष भएको गणनामा जम्मा १०२ वटामात्रै घडियाल फेला परेका थिए । प्राकृतिक वातावरणमा जम्मा एक प्रतिशतको हाराहारीमा मात्रै घडियाल हुर्केको देखिएको छ ।
‘घडियाल संरक्षण निकै चुनौतीपूर्ण छ । तापक्रम वृद्धि र खडेरीले झनै संकट थप्यो’ खड्काले भन्नुभयो । हाल नेपाल र भारतमा मात्रै प्राकृतिक बासस्थलमा घडियाल पाउने गरिएको छ । विश्व संरक्षण संघले घडियाललाई अति संकटापन्न प्रजातिको सूचीमा राखेको छ ।
source :www.echitwanpost.net


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी