Thursday, September 6, 2012

पेट्रोलियमको मूल्यवृद्धिको सर्वत्र विरोध

भरतपुर । सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको सर्वत्र विरोध हुन थालेको छ । अनेरास्ववियु चितवनले सोे मूल्यवृद्धिको विरोध गर्दै भरतपुर र रत्ननगरमा बिहीबार बिहान एक घण्टा चक्काजाम गरेको छ । भरतपुरको वीरेन्द्र क्याम्पस, चौबीसकोठी र टाँडीको शहीदस्मृति बहुमुखी क्याम्पस अगाडि बिहान ९ बजेबाट एक घन्टा चक्काजाम गरेको अनेरास्ववियु चितवनका सहसचिव स्वरुप सुयाँलले बताउनुभयो । सो अवसरमा जिल्ला अध्यक्ष केशव कँडेल र सहसचिव सुयाँलले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेकेको भन्दै तुरुन्त फिर्ता लिन माग गर्नुभएको थियो । अन्यथा कडा आन्दोलनमा उत्रने विद्यार्थीको चेतावनी थियो । त्यस्तै अनेरास्ववियु क्रान्तिकारी क्षेत्रीय समिति क्षेत्र नं. ३ को बिहीबार सम्पन्न बैठकले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोध गर्दै वृद्धि गरिएको मूल्य फिर्ता लिन माग गरेको छ । समिति संयोजक साजन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच उपभोक्ता मञ्च नेपाल जिल्ला कार्यसमिति चितवनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गरेको छ । अध्यक्ष गणशेखर शर्मा र सचिव शारदा पौडेलले विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । चाडबाडमा हुने अत्यावश्यक वस्तुको मूल्यवृद्धिलाई रोकी मूल्यस्थिरताको लागि आवश्यक व्यवस्था गर्नसमेत माग गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी