Sunday, September 30, 2012

सम्पन्न परिवारबाटै जंगली च्याउ सेवन

नारायणगढ । जनचेतनाको कमीका कारण चितवनको पहाडी बस्तीमा जंगली च्याउ खाने क्रम अझै पनि रोकिएको छैन ।
आर्थिक रुपमा  सम्पन्न भएकाहरुले पनि जंगली च्याउ खाने गरेको पाइएको छ । आर्थिक विपन्नता भन्दापनि जनचेतनाको अभाव र दिउँसोको समय फुर्सद हुनाले पनि जंगलक्षेत्र वरपरका बासिन्दाहरु च्याउ टिप्न जाने गरेको शक्तिखोर गाविसका निवर्तमान गाविस अध्यक्ष गोपी श्रेष्ठले जानकारी दिनुभयो ।
चितवनको शक्तिखोर, सिद्धी, काउले, जुटपानी, लोथर, चन्डिभन्ज्याङ, कोराक, दाहाखानी, दारेचोक, कविलासलगायतका स्थानीय बासिन्दाले अझैपनि जंगलबाट च्याउ ल्याएर खाने गरेको पाइएको छ । जंगली च्याउ खाएर विभिन्न गाविसमा स्थानीयले ज्यान गुमाएपछि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनलगायत विभिन्न संघ संस्थाले सचेतनामूलक कार्यक्रम गरेपनि त्यस्ता कार्यक्रमले निरन्तरता नपाउँदा जंगली च्याउ खाने क्रम रोकिएको छैन ।
विषालु जंगली च्याउ खाएकै कारण वि. सं. २०६७ साल जेठमा लोथर गाविसको कान्दाका एकै परिवारका आठ जनाले ज्यान गुमाएका थिए । यस्तै  गएको वर्ष कविलास गाविसको चौकी गाउँका एकै परिवारका ५ जनाले ज्यान गुमाएका थिए ।
अधिकांश स्थानीयले घाँस दाउराका लागि जंगल जाने र आउँदा च्याउ टिपेर ल्याउने गर्दछन् । जंगलमा बाख्रा चराउन जा“दा च्याउ टिपेर ल्याउने गरेको सिद्धी गाविस तीनकी मनकुमारी चेपाङले बताउनुभयो । वर्षौदेखि खा“दै आएको च्याउबाट आफूहरुलाई कुनै असर नगरेको उहाँले बताउनुभयो ।
स्थानीयले च्याउ टिप्दा त्यसमा कीरा लागे नलागेको हेर्ने र कीरा कमिला लागेको पाइएमा त्यस्ता च्याउ खाने गरेको उहा“ले बताउनुभयो । धेरै सफा देखिने तथा माहुरी, कीरा नभएको च्याउ विषालु हुन सक्ने स्थानीयको विश्वास छ ।
विगतको समयमा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले च्याउ खाएर स्थानीयको ज्यान गुमाएको समयमा केही जनचेतनामूलक कार्य गरेपनि अहिले सो कार्यले निरञ्न्तरता पाउन सकेको छैन । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केहर सिंह गोदारले अहिले खासै च्याउ टिप्ने समय पनि नभएकोले जनचेतनामूलक कार्यक्रम नल्याइएको बताउनुभयो ।




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी