Monday, September 24, 2012

आक्रमण गरी पाँच लाख बढी लुटपाट, घटनाको सर्वत्र विरोध, दोषीलाई कारबाही माग

भरतपुर । पूर्वी चितवनको पर्सास्थित आईएमईको शाखा अरुण इम्पेक्सका सञ्चालक हेमराज आचार्यलाई आक्रमण गरी उनीसँग रहेको पाँच लाख ११ हजार रुपैयाँ लुटपाट भएको छ । दुई जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरुले आचार्यलाई खुकुरीले आक्रमण गरी नगद लुटी लगेको इलाका प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लुम्बिनी बैंक पर्सा शाखाबाट झिकेर रकम लिई कार्यालय जाँदै गर्दा कार्यालयअगाडि नै सो आक्रमण तथा लुटपाट भएको हो । आक्रमणबाट पूर्वी चितवनको टाँडीका आचार्यको दाहिने हातमा गम्भीर चोट लागेको छ । उनको काठमाडौंमा उपचार भइरहेको छ । घटनालगत्तै लुटेराहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै घाइते आचार्यका आफन्तहरुले आक्रमणको विरोधमा सोमबार एक घण्टा पूर्वी चितवनको रत्ननगरस्थित टाँडीमा चक्काजाम गरे । आक्रमणमा संलग्न दोषीलाई तत्काल पत्ता लगाइ कडाभन्दा कडा कारबाही गर्न माग गर्दै उनीहरुले दिउँसो २ बजेदेखि एक घण्टा राजमार्गमा यातायात ठप्प पारेका थिए ।
यसैबीच उवासंघ रत्ननगरले एक विज्ञप्ति जारी गरी आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ । संघले घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विज्ञप्तिमा यस्ता आपराधिक घटनाहरु पुनः दोहोरिन नदिनका लागि सरोकारवाला निकायसँग अपिल गरिएको छ ।
त्यस्तै अभियान टेलिभिजनले एक विज्ञप्ति जारी गरी आफ्ना संस्थापक सेयर सदस्य हेमराज आचार्यमाथि भएको सांघातिक आक्रमणप्रति भत्र्सना गरेको छ ।
‘प्रहरीकै सामुन्ने हाम्रा सेयर सदस्यमाथि आक्रमण हु“दा पनि प्रहरी मुकदर्शकमात्र बनेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि व्यवसायमा संलग्न व्यक्तिलाई निर्वाध रुपमा व्यवसाय गर्ने र हिँड्नेसम्मको पनि वातावरण नहुनु अत्यन्तै दुःखद् बिषय हो । यो घटनाले प्रशासनको फितलो सुरक्षा व्यवस्था स्पष्ट दर्शाएको छ ।’
विज्ञप्तिमा आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रशासनस“ग माग गरिएको छ ।
यसैबीच सोही घटनाकोे विषयलाई लिएर एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा–माओवादीनिकट युवाहरुले संघर्ष समिति गठन गरेका छन् ।
राजेन्द्र कोइरालाको संयोजकमा बनेको समितिमा स्वरुप सुयाँल, सुरेश पुन, सुदर्शन सुवेदी, बाबा पराजुली, विवेक थापा, मुरली गजुरेल र प्रेम प्रधान सदस्य रहेका छन् । समितिले आज मंगलबार प्रशासन घेराउ तथा विरोध ¥याली गर्ने बताइएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी