Monday, September 24, 2012

शिक्षा गुणस्तरीय बनाउन समुदायस्तरबाटै पहल आवश्यक

नारायणगढ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि समुदायस्तरबाट नै पहल गर्नुपर्ने शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले बताउनुभएको छ ।
नारायणगढमा विजय विकास श्रोत केन्द्रले आयोजना गरेको स्थानीयस्तरमा सुशासन प्रबद्र्धन र सुदृढीकरणका लागि सामाजिक जवाफदेहीता कार्यक्रमको अनुभव आदानप्रदान कार्यशालामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
विद्यालय सुधारका कार्यहरु धेरै भएको भन्दै सामुदायिक स्तरबाट ती कार्यहरुलाई एक साथ जोडेर लैजानुपर्ने उहाँको भनाइ थियो । ‘हामीले धेरै गरेका छौँ, फेरि पनि हामीले शून्यबाट थालनी गर्नुपर्ने आवश्यकता छैन ।’
महानिर्देशक शर्माले भन्नुभयो, भएका कामहरुलाई गाँस्दै र त्यसमा नयाँ काम थप्दै जाने हो भने शैक्षिक सुधार हुन सक्छ ।’ त्यसको लागि विद्यालयले आफँै सूचकको निर्माण गरी समुदायको सहयोगमा सूचकहरुको प्रयोग गर्दै जानुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।
नेपालका हरेक विद्यालयमा शैक्षिक सुशासन कायम गनुपर्ने भन्दै विभाग सधै त्यसका लगि सहकार्य गर्न तयार रहेको शर्माको भनाइ थियो । शिक्षा हरेक पूर्वाधारसँग जोडिएर रहेको भन्दै यसको विकासका लागि अन्य क्षेत्रको पनि सुधार गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘शिक्षालाई मात्र सुधार गरेर हुँदैन, यो विकासका हरेक क्षेत्रसँग अन्तरसम्बन्धित छ’, महानिर्देशक शर्माले थप्नुभयो, ‘यसका लागि अन्य क्षेत्रहरुको पनि सुधार आवश्यक रहेको छ ।’
देशभर रहेका ३४ हजार सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्दै जानुपर्ने उहाँको भनाइ थियो । एक अर्काे प्रसंगमा महानिर्देशक शर्माले तोकिएको २२० दिन कक्षा सञ्चालन गर्नुपर्ने दायित्व विद्यालयको रहेको बताउनुभयो ।
केही समयअगाडि एक शिक्षक संगठनको सम्मेलनमा चितवनका विद्यालयहरु बन्द भएको र तीज मनाउन निजी विद्यालयले पाँच दिनसम्म विद्यालय बन्द गरेको भन्दै यसका लागि विभागले कस्तो कारबाही अगाडि बढाउँछ भन्ने पत्रकारको जिज्ञासामा उहाँले स्थानीय क्षेत्रमा अनुगमन गर्ने जिम्मा जिल्ला शिक्षा कार्यालयको भएकोले यसमा शिक्षा कार्यालयले अनुगमन गर्ने बताउनुभयो ।
‘हामीले यतिमात्र भन्ने २२० दिन विद्यालय सञ्चालन हुनुपर्छ, कसरी गर्ने के गर्ने भन्ने स्थानीय अभिभावक शिक्षक, विद्यार्थी र विद्यालयको जिम्मेवारी हो’, महानिर्देशक शर्माले भन्नुभयो । कक्षा १ मा भर्ना भएका १०० विद्यार्थीमध्ये १५ जनामात्र एसएलसी उत्तीर्ण हुने गरेको भन्दै त्यसलाई सुधारका लागि विभागले पहल गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विजय विकास श्रोत केन्द्रका प्रमुख सामाजिक जवाफदेहीता अभ्यासकर्ता वीरभद्र सापकोटाले केन्द्रले नवलपरासीका २१ विद्यालयमा अनुगमन गर्दा १६० दिनमात्र कक्षा सञ्चालन भएको पाइएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयहरुमा जवाफदेहीता बढाउनका लागि नियमित अनुगमनको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा सीईसीआईका प्रान प्रमुख माधव कार्की नवलपरासीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, राष्ट्रिय उच्च माविकी विद्यार्थी ममता विकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रम केन्द्रका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी