Saturday, September 29, 2012

रगतको ल्याव परीक्षण शुल्कले विपन्न मर्कामा

भरतपुर । रक्तसञ्चार केन्द्रले रगतको परीक्षणवापत लिने शुल्कका कारण विपन्न वर्गका बिरामीहरुलाई आर्थिक भार पर्ने गरेको छ । रक्तसञ्चार केन्द्रले ल्याव परीक्षण, केमिकल र प्रविधिका लागि एक युनिट रगतको ८५० रुपैयाँ लिने गरेका कारण विपन्न वर्गका बिरामीहरुलाई सो समस्या पर्ने गरेको हो  ।
रक्तसञ्चार केन्द्रबाट खरिद गरेरमात्र सर्वसाधारणले रगतको प्रयोग गर्न पाउने भएकाले विपन्नहरुलाई मर्का परेको अगुवा रक्तदाताहरु शनिबार भरतपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।
नेपाल स्वयम्सेवी रक्तदाता समाज चितवनको प्रथम अधिवेशनका अवसरमा बोल्ने अगुवा रक्तदाताहरुले ब्लड बैंकलाई तिर्नुपर्ने रकम राज्य र निजी अस्पताल मिलेर व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवम् अगुवा रक्तदाता धु्रब थपलियाले रक्तदाताले निःशुल्क वितरण गरे पनि विपन्नहरुले त्यो प्राप्त गर्न रकम तिर्नै पर्ने अवस्थाको राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । निजी अस्पतालहरुमा पनि ब्लड बैंकले रगत उपलव्ध नगराएसम्म सेवा सञ्चालनमा कठिनाइ हुने हुनाले उनीहरुको पनि दायित्व रहने थपलियाको भनाइ छ ।
नेपाल दुर्लभ रक्त समूहका अध्यक्ष बालानन्द भण्डारीले गरिब जनतालाई रगत पूर्णरुपमा निःशुल्क गर्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल स्वयम्सेवी रक्तदाता समाजका तदर्थ समितिका अध्यक्ष हिरामान महर्जनले सबै बिरामी अनार र स्याउको जुस खान सक्ने अवस्थाका नहुने भएकाले भुजा र प्याज खान बाध्य बिपन्न वर्गका बिरामीलाई ८५० रुपैयाँ पनि धेरै हुने तर्क गर्दै निःशुल्क रगतको व्यवस्था गर्न सम्बन्धित पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो ।
सरकारी निकायलाई सहयोगका लागि जतिसुकै याचना गरेपनि कुनै सुनुवाइ नभएको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलको भनाइ छ । चितवनमा अहिले मासिक झण्डै तीन हजार युनिट रगत रक्तसञ्चार केन्द्रले वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ सक्रिय रक्तदाताहरुको अग्रसरतमा नेपाल स्वयम्सेवी रक्तदाता समाज चितवनको गठन गरिएको हो ।
अधिवेशनले बालानन्द भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । अधिवेशन उद्घाटन कार्यक्रममा रेडक्रस उपशाखा भरतपुरका प्रमुख जगदिश्वर खनाल, रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदीपसिंह अधिकारी, नागरिक समाज चितवनका उपाध्यक्ष एवम् आशा अस्पतालका सञ्चालक नारायणसिंह कुँवर, रेडक्रस चितवनका सदस्य पोदराज पौडेललगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी