Saturday, September 1, 2012

दुवै माओवादीका विद्यार्थी संगठन सम्मेलनको तयारीमा

भरतपुर । एकीकृत माओवादी र नवगठित नेकपा–माओवादीका विद्यार्थीहरु चितवनमा २७ आँै जिल्ला सम्मेलनको तयारीमा जुटेका छन् ।
एकीकृत नेकपा माओवादी फुटेर बनेको नेकपा–माओवादीको भ्रातृ संगठन अखिल (क्रान्तिकारी)ले यही २२ र २३ गते आफ्नो जिल्ला सम्मेलन गर्न लागेको सम्मेलन आयोजक समितिका संयोजक रुद्र भट्टराईले शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
त्यस्तै एकीकृत माओवादी समर्थित विद्यार्थीहरुले मंसिर १५ र १६ गते सम्मेलन गर्ने आइतबार बसेको संगठनको प्रथम विस्तारित बैठकले निर्णय गरेको हो ।
सम्मेलन सफल पार्न नवगठित माओवादीले पार्टी नफुट्दैका संगठनका अध्यक्ष भट्टराईको नेतृत्वमा ३३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ भने एकीकृत माओवादीनिकट विद्यार्थीहरुले दीपेन्द्र वस्तीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरेको छ ।
यसअघि संगठनको केन्द्रीय कमिटीले सम्मेलन आयोजक समितिको संयोजकमा दीपक भुषाललाई तोके पनि उहाँलाई केन्द्रीय कमिटीमा बढुवा गरेपछि सम्पन्न बिस्तारित बैठकले वस्तीलाई संयोजक चयन गरेको हो ।
दुवै संगठनले आफ्नो नाम अखिल(क्रान्तिकारी) भनेर दावी गरिरहेको सन्दर्भमा एक अर्काले चितवनमा आफू सशक्त भएको समेत दावी गरेका छन् । नवगठित माओवादीनिकट क्रान्तिकारीका संयोजक भट्टराईले संगठनले गर्दै आएको भूमिकालाई हेरेर पनि यसको फैसला हुने दावी गर्नुभयो ।
‘हरेक इकाइहरुमा हाम्रो नेतृत्व सवल छ, अधिकांश कलेज तथा विद्यालयहरुमा हाम्रा संगठन निर्माण गरिसकेका छौँ’, उहाँले भन्नुभयो ।
यता, एमाओवादीनिकट माओवादीले पनि आफ्नो उपस्थिति दह्रो रहेको दावी गरेको छ । संगठनको हरेक विद्यालयहरुमा इकाइ तथा सहइकाइ कमिटी निर्माण भइसकेको संगठनले जनाएको छ ।
दुई वर्षअगाडि भएको २६ औँ जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरे पनि गुटगत विवादका कारण पूर्ण बैठक बस्न सकेको थिएन । संस्थापन पक्षको नेतृत्व केन्द्रीय सदस्य सीता न्यौपाने र वैद्य पक्षको नेतृत्व केन्द्रीय सचिवालय सदस्य लालबहादुर तमाङले गर्दै आउनुभएको थियो ।
अघोषित रुपमा भए पनि समानान्तर कमिटीका रुपमा क्रान्तिकारी दुई भागमा विभाजित भएको थियो ।
माउ पार्टी फुटेपछि दुवै संगठन सम्मेलनको तयारीमा जुटेका हुन् । नवगठित माओवादीनिकटको क्रान्तिकारीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सम्मेलनमा आउने ६५० प्रतिनिधि तथा पर्यवेक्षकहरुको चयन भइसकेको संयोजक रुद्र भट्टराईले जानकारी दिनुभयो ।
सम्मेलनको संगठनका पूर्वअध्यक्ष एवम् नवगठित माओवादीका विद्यार्थी फ्याक्सन इञ्चार्ज लेखनाथ न्यौपानेले उद्घाटन गर्ने जनाइएको छ ।
यता, एकीकृत माओवादीनिकट क्रान्तिकारीमा भने विवादका कारण क्षेत्रीय समितिहरु बन्न नसकेको संगठनको निकट स्रोतले चितवन पोष्टलाई जानकारी दिएको छ । अन्य क्षेत्रको नेतृत्वमा विवाद नभए पनि क्षेत्र नं. ३ मा नेतृत्वमा विवाद भएको जनाइएको छ ।
क्षेत्रीय इञ्चार्जमा प्रचण्ड पक्षीय दिलिप पौडेल, बाबुराम पक्षीय विनोद पौडेल र पूर्वजनमोर्चा तथा प्रकाश पक्षीय साजन अधिकारीले दावी गरेपछि संगठनभित्र प्रष्ट तीन धार देखिएको हो । यही विवादले सम्मेलन आयोजनाका लागि बिस्तारित बैठकले गर्ने भनेको विभिन्न विभागहरुको गठन गर्न सकेन ।
संगठनको बिस्तारित बैठकमा केन्द्रीय सचिव ललित घलानले केन्द्रीय निर्णय तथा आगामी कार्ययोजनाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी