Thursday, September 13, 2012

बालश्रमिकले आत्मकथा सुनाउँदै पुरस्कार जिते

भरतपुर । बाल दिवसको अवसरमा बिहीबार जिल्ला बालकल्याण समिति चितवन, महिला बालबालिका कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन र दियालो परिवारको संयुक्त आयोजनामा चितवनमा ‘श्रमिक बालबालिकाहरुको आत्मकथा’ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा घरेलु बालश्रमिकको तर्फबाट ११ वर्षीय सुजीत पुडासैनी प्रथम, अनु तमाङ द्वितीय र धनमाया कुमाल तृतीय भएका छन् । त्यस्तै सडक बालबालिकाको तर्फबाट दिवस भट्ट प्रथम, मनोज गुरुङ तथा १३ वर्षीय विशाल गुरुङ द्वितीय र निरज धमला तृतीय भएका छन् ।
उक्त कार्यक्रममा सडक बालबालिकाहरुले सरकारले वातावरण सृजना गरे आफूहरु परिवर्तन भई स्वरोजगार बन्ने बताएका छन् । कार्यक्रममा आत्मकथा प्रस्तुत गर्दै उनीहरुले सडक बालबालिकाहरुलाई सरकारले छुट्टै संयन्त्र निर्माण गरी आवश्यक तालिमको व्यवस्था गरिदिन समेत आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि जिविस चितवनका सामाजिक विकास अधिकृत कृष्णजयन्ती पौडेलले सडक बालबालिकाहरुको समस्या समाधान गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले सडक बालबालिकाहरुलाई समाजमा स्थापित गराउन छुट्टै नीति बनाएर अघि बढ्ने दावी गर्नुभयो ।
इन्सेक चितवनका जिल्ला संयोजक मुकुन्द दाहालले कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै बाल अधिकार र बाल दिवसले घरेलु बालश्रमिक र सडक बालबालिकालाई समेट्न नसकेको भन्दै उनीहरुलाई पनि राष्ट्रका सक्षम नागरिक बनाउन सरकारले नै विषेश कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा दियालो परिवार नारायणगढका अध्यक्ष राजेन्द्रकुमार पिया, जिल्ला बालकल्याण समिति चितवनका हरिप्रसाद आचार्य, दियालो परिवारका केदारनाथ खनाललगायतले बोल्दै सडक बालबालिकाहरुको क्षेत्रमा जति कार्यक्रम सञ्चालन गरे पनि जनमानसबाट कामको मूल्याङ्कन नहुने गरेको गुनासो गरेका थिए ।
कार्यक्रममा घरेलु बालश्रमिक र सडक बालबालिका गरी १५ जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी