Friday, March 15, 2013

पुस्तक समीक्षा : थाल थालमा सपना ः वीर्यको मोर्चामा बमका गोलाहरु

एउटा प्रगतिशील पुस्तक हात लागेको छ । एकपटक पढेँ, दोहो¥याएर पढेँ । बिम्बको समग्र प्रयोगले रोचक कविताहरुको बाढी पाएँ, कवि रेशम विरहीको कवितासंग्रह ‘थाल थालमा सपना’मा । कवि विरहीसँगको सम्बन्ध मसँग अहिलेसम्म नजिकको छैन, तर पनि मेरा प्रिय कविताहरुका कारण म आफूलाई नजिकको झैँ महसुस गर्छु ।

‘थाल थालमा सपनाहरु’ एक प्रयोगधर्मी कविताहरुको संग्रह हो । यसलाई प्रगतिशील साहित्यको पाटोका रुपमा समेत लिन सकिन्छ । कवि विरही बिम्बात्मक कविका रुपमा प्रकट भएका अधिकांश कविताहरुमा समाजको विसंगतिप्रति खरो रुपमा उत्रिएका छन् । उनी कवितामा देश रोएको कथाहरुलाई उन्न सफल भएका छन् । उनी आफ्नो देशभित्रै आफूले परिचय खोज्न बाँकी रहेको कुरालाई यसरी प्रस्तुत गर्छन् ः
।।हामी।।
हामी के हाँै
जसको पहिचान खोज्न अझैँ बाँकी रहेछ
नेपालका नाममा !
(नेपाल)


हामीले आफूलाई नेपाली भनेर परिचय दिँदै गर्दा साँच्चै हामीमा नेपालीपन छ या छैन, त्यसको मूल्यांकन जरूरी रहेको कविको भनाइ छ । कुल ३६ वटा कविताहरु समावेश गरिएको संग्रह हो, ‘थाल थालमा सपना’ । आफैँमा शीर्ष कविता नभए पनि कृतिको शीर्षक बिम्बात्मक छ । यहाँ हरेकले सपनाहरु देख्ने गरेका छन् । हरेकसँग आफ्नै सपनाहरु हुन्छन्, तर ती सबै सपनाहरु पूर्ण हुन्छन् भन्ने छैन । ती अपूर्ण सपनाहरुको प्रतिनिधित्व यस कृतिले गरेको छ ।
‘प्लाटुन कमान्डर रितबहादुर शहीद हुनुभो
फूलमतीले न प्लाटुन कमान्डर बुझी
न शहीद बुझी,
रितबहादुर मात्र बुझेर अक्मकिएकी फूलमतीलाई
कसिलो मुठी आकाशतिर तन्काउँदै
फौजी झुन्ड चुपचाप ओरालो झ¥यो
फूलमतीले केही नबुझेर
मौन आँखाले हेरिरही ।’
(प्लाटुन कमान्डर रितबहादुर)


एउटा सपनाको प्रतिनिधि कविता हो, प्लाटुन कमान्डर रितबहादुर । परिवर्तनको सपना बोकेर गएको रितबहादुर र उसकी आमा फूलमतीको संवेदना प्रस्तुत गरिएको छ कवितामा । अबोध फूलमतीलाई सपनामाथि सपना बेचिएको छ । शहीद र प्लाटुन कमान्डर नबुझेकी उनले खाली मुठी उठाएर सलाम मात्र गर्न जानिन्, खाली सपनाका खातिर । संग्रहमा यस्ता कविताहरु प्रशस्त पाइन्छन् ।

त्यतिमात्र होइन, कवि सचेत छन वर्तमान नेपालको अवस्थाप्रति, कहीँकतै नेपालीले आफ्नो स्वाभिमान गुमाउँदै त छैेनन् भन्नेबारेमा ! यस्तै कविताको प्रतिनिधि कविता हो, ‘विर्खबहादुरको टोपी’
मुसाहरुबाट बचायो
धमिरा र कीराबाट बचायो
घाम–पानी पचायो र बचायो ।
पुस्तौँदेखि–
मुटुको स्पन्दनसँगै
माया गरेर बचाएको
विर्खबहादुरको टोपी
आज किन एकाएक
उसकै शिरबाट हराउने
उपक्रम सुरू भयो ?
(विर्खबहादुरको टोपी)


देशको सिमाना लुटिएको बेला कवि आफ्नो देशमा आउने पर्यटकले नेपालीलाई तिम्रो देशको नक्सा कसरी बनेको छ भनेर प्रश्न गरिरहेको बताउँछन् ।
प्रिय पर्यटक !
तिम्रो यात्राको भिजिटिङ कार्डमा
कोरिएको छ–
हाम्रो देशको नक्सा
तथापि यहाँ आइपुगेपछि
बसाइँ सरिरहेका पिल्लरहरु र
पानीमाथि कोरिएका अक्षरजस्ता
सीमारेखा देखेर
अल्मलिने छौँ एकपटक
र सोध्ने छौँ–
कसरी कोरियो नेपाली
तिम्रो देशको नक्सा ?
र कहाँ देख्न पाइन्छ असली अनुहार ?
(तिम्रा यात्रा ः हाम्रा चिसा सपना)


प्रत्येक कविताहरुले आफ्नै संवेदना बोकेको भए पनि हरेक कविताहरु आफैँमा उत्कृष्ट र बिम्बात्मक छन् । बिम्ब र प्रतीकहरुको प्रयोगका दृष्टिले हेर्ने हो भने कविताहरु बढी दार्शनिक छन् । एउटा लेखक वा कविलाई बिम्बात्मक रुपमा कवितामा विरहीले यसरी उतारेका  छन् ः
ऊ आफू सम्भोग गर्छ
र बाँड्छ उत्तेजना
विचारको रुढ सन्निपातले ग्रस्त
मानिसहरु अघि
आतंक भएर प्रकट हुन्छ
मानिसहरु त्रस्त छन्
मानिसहरु ग्रस्त पनि छन्
देखेर सधैँ वीर्यका मोर्चाहरुमा बमका गोलाहरु ।
(एउटा सम्भोगरत मानिस)


सामान्य अर्थमा विचारको गोलीले युद्ध लड्ने कवि तथा लेखकहरु उनको यस कवितामा वीर्यको युद्ध लडिरहेका छन् । सम्भोगको युद्ध लडिरहेका छन् । सम्भोगले सृष्टिको सिर्जनामा सहयोग पुग्छ । त्यस्तै, विचारलाई बढाउन, फैलाउनका निम्ति सम्भोगको आवश्यकता रहेको छ भन्ने देखाएका छन्, बिम्बात्मक रुपमा कविले । शीर्षक आफैँमा पनि प्रतीकात्मक छ ।

नेपालीहरुको पुस्तान्तरलाई कविले कवितामा सरस ढंगले प्रस्तुत गर्न खोजेका  छन् । तीन पुस्ताको विवेचना गरेर नेपालको अहिलेको अवस्था देखाउन सफल छन् ।
पहिलो पुस्ताले
दूध र भात माग्यो

दोस्रो पुस्ताले
उन्मुक्ति माग्यो

तेस्रो पुस्ताले माग्यो
देशप्रतिको एक मुठी माया
तर बिचरा
तिनको माया दिने मुटु नै थिएन

केवल थियो
चैतन्य हराएको
मासुको पहाड जस्तो
स्थुल शरीर !
(पुस्तान्तर)


हिजो परिवर्तनका लागि भएका अनेकौँ आन्दोलन, युद्ध र क्रान्तिका साक्षी हुन् कवि । कवितामा प्रत्येक आन्दोलनमा कविको सहभागिता रहेको कुराको महसुस हुन्छ । हजारौँले परिवर्तनका लागि उत्सर्ग गरेको रगतका साक्षी हुन् कवि । उनी आफूलाई साक्षीका रुपमा प्रस्तुत गरेका छन, परिवर्तनका लागि लड्ने सिपाहीहरुको र तिनै सिपाहीहरुमाथि धोखाको पनि ।

नयाँ शहस्राब्दीको समयभन्दा
धेरै पछाडि परेको उसको आयतन
अझै खुम्चँदै गएको स्पष्ट बोधले –
ऊ झन् आक्रान्त भयो ।
र, अन्तिम निष्कर्ष
जर्जर वर्तमानबाट
प्रखर वर्तमानको खोजीमा
आफैँले टेकेका पाइतालाका डोबहरु
एकपटक गहिरिएर हेर्न थाल्यो ।
(साक्षी)


कविले प्रेमलाई समेत प्रतीकका रुपमा प्रयोग गरेका छन् । कवितामा दार्शनिक प्रेमको परिभाषा दिन सफल भएका छन् । वर्तमानमा देखिएको प्रेमलाई पशुवत् प्रेमका रुपमा संकेत गरेका छन्, कविले कवितामा ः
पशुहरुको प्रेम सागरजस्तै
म आफ्नो प्रेमको हिस्सा
मुटुको एउटा कुनामा सुरक्षित राख्दै
मेरो प्रेमको दर्शनशास्त्रका पानाहरुबाट उतारेर
लेखिरहेछु– प्रेमको घोषणापत्र
(प्रेम सागर)


कवितासंग्रहमा कविलाई आञ्चलिक कविका रुपमा अध्ययन गर्नसमेत सकिन्छ । उनका कविताहरुमा आञ्चलिकताको समेत भरपूर प्रयोग गरिएको छ । नेवारी थिङ्को चेतना, दासढुंगा, नेपालगन्ज पोट्रेट, नेपालगन्ज, थवाङ–संलाप, मंगली गुप्ताको पान आदि कविताहरु बिम्बात्मकसँगै आञ्चलिक पनि छन् ।

कवि विरहीको यो कवितासंग्रह आफैँमा उत्कृष्ट संग्रह हो भन्नेमा दुई मत देखिँदैन । कविताहरुमा उनलाई शब्दहरुको सूत्रधारका रुपमा देख्न सकिन्छ । शब्दमा उनले कुनै कन्जुस्याइँ गरेका छैनन् ः
म मेरो मनसँग सोधिरहन्छु
निरन्तर सोधिरहन्छु
अनगिन्ती यात्राका गल्छेडामा उभिएर
प्रश्न गरिरहन्छु
तिमी गुलिभर हौ ?
कि यायावर ?
(मन)


बौद्धिक पाठकहरुका लागि कवितासंग्रह अचुक खुराक बनेको छ, तर कविका कविताहरु आमपाठकले भने बुझ्ने खालका छैनन् । कविता पढ्दै गर्दा कयाँै पटक उनीहरुले शब्दकोश पल्टाउनु पर्ने हुनसक्छ । तर, पनि कवि एक सशक्त प्रगतिवादी रुपमा यस कवितासंग्रहमा उपस्थित भएका छन् । अर्काे कुरा भन्नुपर्दा कविताहरुमा भाषिक शुद्धतालाई कमै मह¤व दिएको जस्तो लाग्छ, त्यसलाई पनि सुधार्नु पर्ने आवश्यकता देखिन्छ ।

कविले आफ्नो समग्र समाजप्रतिको दृष्टिकोण हरेकजसो कवितामा प्रस्तुत गर्न सफल छन्– देशको विसंगत अवस्था, आममानिसको निराशा, असफल भएका सपनाहरुलगायत । तिनै अपूर्ण सपनाहरुको परिणामलाई कवितासंग्रह ‘थाल थालमा सपना’ले बोकेको छ । कवि विसंगतिलाई प्रस्तुत गर्ने कवि हुन् । प्रगतिवादी चेतना, प्रयोगवादको उपयोगिता, बिम्ब र प्रतीकहरुको समग्र प्रयोग, व्यङ्ग्य चेतनाका दृष्टिले साँच्चै कवितासंग्रहले वीर्यको मोर्चामा बमका गोलाहरु बर्साउन सफल भएको छ ।
 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी