Tuesday, April 10, 2012

शिविरबाट बाहिर निकालेका सामग्री बरामद

शक्तिखोर । पूर्वी चितवनको शक्तिखोरस्थित माओवादी तेस्रो डिभिजनका लडाकूहरुले शिविरभित्र प्रयोगमा रहेका सामानबाहिर निकालेर लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ । भित्र प्रयोग भएका सामान अवैध रुपमा लडाकूले लैजान थालेपछि सुरक्षाको लागि शिविरबाहिर सुरक्षाकर्मी परिचालन गरिएको थियो । लडाकूहरुले शिविरभित्र रहेका काठ, ड्रम पानीका पाइपलगायतका सामग्रीहरु लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो । सेना समायोजन विशेष समितिले पुनर्वर्गीकरणको काम थाल्ने निर्णय गरेकै समयदेखि लडाकूहरुले शिविरभित्रका सामान बाहिर निकाल्न सुरू गरेका थिए । लडाकूले घर बनाउँदा प्रयोग गरिएका काठका फलेक भत्काएर लगेको बताइएको छ । बरामद गरिएको सामान जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । लडाकूले शिविरभित्र प्रयोग भएका सामान लैजान थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गर्नु परेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताउनुभयो । वहिर्गमित लडाकूको शिविर बाहिर भएको प्रदर्शन र लडाकूले शिविरका सामान बाहिर निकाल्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो । तेस्रो डिभिजनमा भएको आर्थिक अनियमितता पारदर्शी हुनुपर्ने माग गर्दै आइरहेका वहिर्गमित लडाकूहरुले शिविर पछाडिपट्टिको गेटबाट भित्र छिरेर प्रदर्शन गरेको समाचार श्रोतले जनाएको छ । शिविरको हरहिसाबको पारदर्शी र आफूहरुलाई लागेको अयोग्यको बिल्ला खारेजीको माग गर्दै सोमबारदेखि तेस्रो डिभिजन अगाडि प्रदर्शन गर्दै आएका पूर्व लडाकूहरु शिविरभित्रै प्रवेश गरेका हुन् । मंगलबार शिविरवरिपरि ठूलो संख्यामा प्रहरी परिचालन गरिएपछि उनीहरु पूर्व पश्चिम राजमार्ग बन्द गर्ने भन्दै नारायणगढ पुगेका थिए । उनीहरुलाई तिरवितर पार्दै प्रहरीले नेतृत्व गरेका ज्वाला नेपाललाई नियन्त्रणमा लिएपछि बाँकी रहेका लडाकूहरु तेस्रो डिभिजन शक्तिखोर पुगेका थिए । उनीहरुको मागको विषयमा छलफल भइरहेको तेस्रो डिभिजनका प्रवक्ता कुवेरले जानकारी दिनुभयो । तेस्रो डिभिजनमा कमान्डरले सेना समायोजनको काम अघि बढाउन सहमति जनाएपनि सेनामा समायोजन हुने संख्या यसअघिको सम्झौताविपरीत भएको भन्दै लडाकू विरोधमा उत्रिएपछि मंगलबार पनि पुनर्वर्गीकरणको काम प्रभावित भएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी