Tuesday, April 10, 2012

अझै तय हुन सकेनन् सहकारी वर्षका कार्यक्रम

भरतपुर । संयुक्त राष्ट्रसंघले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउन आह्वान गरेको छ । तर सहकारीको जननी चितवनमा कुनै प्रकारका कार्यक्रम तय भएका छैनन् । जिल्लामा एक पटक बैठक बस्नुबाहेक अरु कुनै काम हुन सकेको छैन । अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन सरकारले राष्ट्रियस्तरमा कृषि तथा सहकारीमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समिति तथा मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रीय कार्यान्वयन समिति गठन गरेको छ । केन्द्रले जिल्ला कार्यान्वयन समिति पनि गठन गरेर पत्र पठाएको छ । ‘केन्द्रले गठन गरेर पठाएका पदाधिकारीबीच पुस १४ गते बैठक बसेको हो’, सहकारी डिभिजन कार्यालयका सूचना अधिकारी श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । सो बैठकले चार जना सदस्य मनोनयन गर्ने तय गरे पनि अझैसम्म नाम छनौट हुन नसकेको बुझिएको छ । केन्द्रले जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला कार्यान्वयन समिति गठन गरेको थियो । जसमा जनजाति, दलित, पिछडा वर्ग, मुस्लिम, अपागङ्गता भएका व्यक्तिबाट चार जना छनौट गरेर मनोनय गर्नु पर्छ । यो काम नै अझ हुन सकेको छैन । सन् १८४४ मा बेलायतको रोचडेलबाट सुरू भएको सहाकारीले हाल विश्वको करिब आधा जनसंख्यालाई समेटेको संयुक्त राष्ट्रसंघको अनुमान छ । नेपालमा विसं २०१० सालमा सहकारी विभाग स्थापना भएको थियो । विसं २०१३ साल चैत्र २० मा चितवनमा दर्ता भएको बखान सहकारी नेपालकै पहिलो सहकारी संस्था हो । डिभिजन सहकारी कार्यालयबाट प्राप्त जानकारीअनुसार चितवनमा हालसम्म ६०८ वटा सहकारी संस्था गठन भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चितवनका प्राचार्य बलराम निरौलाका अनुसार नेपालमा २३ हजार तीन सय सहकारी संस्थामा ३० लाख मानिस आवद्ध छन् । ५० हजारले रोजगारी पाएका छन् । १२२ अर्ब रुपैयाँ संकलन भएको छ भने १०५ अर्ब लगानी भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्षको उपलक्षमा सहकारीलाई प्रबद्र्धन गर्ने खालका कार्यक्रम बनाउने योजना छ भन्छन् कार्यालयका सूचना अधिकारी नेपाल । सहकारी नभएका ठाउँमा खोल्ने धेरै भएका ठाउँमा गाभिन प्रेरित गर्ने र निष्क्रिय भएकालाई सक्रिय पार्ने योजना छ । जिल्लाले गर्ने कार्यक्रम राष्ट्रिय समितिबाट स्वीकृत हुनुपर्ने परिपत्र आएको छ । त्यसैले जिल्लाले कार्यक्रम तय गर्ने हो या केन्द्रबाट कार्यक्रम बनेर आउनुपर्ने हो भन्ने अन्यौल पनि खडा नभएको होइन । केन्द्रबाट जिल्ला कार्यान्वयन समिति गठन नहुँदै सहकारी कार्यालय र जिल्ला सहकारी संघको पहलमा अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन समिति गठन गरेर तयारीका केही कामसमेत भएका थिए । तर केन्द्रले अर्कै कार्यदल बनाएर पठाएपछि कार्यक्रममा सुस्तता देखिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी