बारुली कम्मर गज्जबसित फनक्क घुमाउँदै बेली डान्स देखाएर दर्शकलाई पागल बनाउने कोलम्बियाली गायिका शाकिरा नेपाल आउने भएकी छिन्। एसिया टुरको क्रममा उनी नेपाल आउने र टुँडिखेलमा डान्स देखाउने भनिएको छ। विश्वकप २०१० को आधिकारिक गीत ‘वाकावाका’ले चर्चाको शिखरमा पुर्याएकी शाकिराको कन्सर्टको मिति पनि तय भइसकेको अन्नपूर्ण पोस्टले दावी गरेको छ- २०६९ असोज ७ गते। शाकिराको आधिकारिक वेबसाइटमा भने यसबारे केही उल्लेख छैन।
तर उनलाई नेपाल ल्याउन लागेको आडिसी इन्टरनेसनलका सीमान्त गुरुङले भने शाकिरा आउने निश्चित भइसकेको र सम्झौता समेत भइसकेको दावी गरेका छन्। गुरुङसमेत रहेको ओडिसी र जेपीआरले पहिलो पटक ब्रायन एडम्सलाई दशरथ रंगशालाको कन्सर्टमा उतारेको थियो।
पहिलो पटक एक विदेशी कलाकारको कन्सर्ट भएकोले यो एकदमै चर्चामा रह्यो। कार्यक्रम पनि भव्य सफल रह्यो। कार्यक्रमपछि आयोजकहरु पनि फुटेछन्। ओडिसी नेटवर्कले त्यसपछि डेनिस ब्यान्ड माइकल लर्नस् टु रकलाई टुँडिखेलमा उतारेको थियो। यो कार्यक्रम भने ब्रायन एडम्स जति सफल हुन सकेन। यसका धेरै टिकट बिकेनन्। ५ हजार मात्रै दर्शक उपस्थित भए। दर्शक दीर्घामा मान्छे नपुग्ने जस्तो देखिएपछि तीन हजार पास सित्तैमा बाँडेको संस्थाकै अध्यक्षले मिडियालाई स्वीकार गरेका थिए। ‘पहिलाको तुलनामा टिकट बिक्री भएन। झन्डै ३ हजार पास सित्तैमा बाँडेका हौं,’ ओडिसीका अध्यक्ष सुरेश अधिकारीले भनेका थिए।
शाकिराको कन्सर्टमा भने शायद यस्तो हुन्न होला। शाकिराको बेली डान्स टिभी र युट्युबमा हेरेर लोभिने युवा र अधवैँशेको ठूलो जमात यहाँ छ। तर के साँच्चै उनीहरुले टुँडिखेलमा शाकिराको डान्स हेर्न पाउलान् ?
को हुन् शाकिरा?
शाकिराको पूरा नाम शाकिरा इसाबेल मेबारक रिपोल हो। उनको जन्म १९७७ को फेब्रुअरी २ मा कोलम्बियामा भएको हो। नब्बेको दशकको पूर्वाद्धमा कोलम्बिया र ल्याटिन अमेरिकाको सांगीतिक क्षेत्रमा गायिका र गीत लेखिकाका रुपमा उनी उदाएकी हुन्। उनी कोलम्बियामा नै हुर्किएकी हुन्। उनले सुरुमा आफ्नै स्कूलमा आफ्नो कला प्रदर्शन गर्ने गर्थिन्। रक एन्ड रोल, ल्याटिन र अरेबिक शैलीको गीत र उनको ट्रेडमार्क विशेषताका रुपमा रहेको कम्मर नचाइ बेली डान्स उनको विशेषता हो। उनी स्पेनिस बोल्छिन्। अंग्रेजी र पोर्चुगिज पनि उनलाई फरर आउँछ। बोल्न त उनलाई इटालियन, फ्रेन्च, क्याटालन र अरबी पनि आउँछ। सन् २००१ मा निस्किएको ह्वेनएभर ह्वेरएभर उनको पहिलो अंग्रेजी एल्बम हो जसले उनलाई विश्वभर चर्चामा ल्यायो। कोलम्बियाका गरिब विद्यार्थीलाई स्कूलमा अध्ययन गराउन उनले पियस डेस्कालजोस फाउन्डेसन नामको च्यारिटी पनि खोलेकी छिन्।
source :nepalilink

No comments:
Post a Comment
Thanx for your comment