Thursday, May 10, 2012

सडकमै भजन र चुट्का गाउँदै बन्दकर्ता

 भरतपुर । ‘देशलाई माया गर नेता संविधान खोज, जनतालाई दुःखै दुःख तिमीलाई चाहिँ मोज । कालो विधान बनाएर झुक्याउन नखोज, बाहुन क्षेत्री ठकुरीलाई दबाउन नखोज ।’
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले गरेको बन्दका क्रममा नारायणगढ र भरतपुरका सडकहरुमा यस्तै शब्दसहितका भजनका टुक्का तथा संगीतिक धुनहरु सुनिए । बिहीबार बिहानैदेखि बन्द गराउन हिँडेका बन्दकर्ताहरु ठाउँठाउँमा तातो सडकमा बसेर भजन र चुड्का गाउँदै रमाइरहेका थिए ।
गीत तथा भजनबाट नै जातीय संघीयताको विरोधमा आवाज उरालेका उनीहरुले गीतबाट यसरी नेताहरुलाई चेतावनी दिए, ‘नेपालमा छन् है जात थरिथरि, जातै पिच्छे राज्य दिएर चलाउँछौ के गरी, संघीयता चाहिँदैन देश टुक्राउन पाइँदैन ।’ चितवनमा लोकप्रिय रमाइला भाकामा गीत प्रस्तुत गर्दै उनीहरुले संघीयता देशलाई नचाहिएको भन्दै अन्य जातिलाई राज्य दिए १०१ जातलाई राज्य दिनुपर्ने तर्फ सचेत बनाएका थिए ।
नारायणगढको पुलचोक, भरतपुरको क्याम्पसगेट, चौबीसकोठी, हाकिमचोकलगायतका स्थानमा प्रदर्शनकारीहरु दिनभर सडकमा बसेर चर्काे घामको बेवास्ता गर्दै भजन गाएका देखिन्थे । उनीहरुको सांगीतिक माहोललाई गैँडाकोटबाट आएको नौमती बाजा समूहले समेत थप उत्साह थपेको थियो ।
सडकमा नै बालकदेखि वृद्धसम्म सांगीतिक माहोलमा रमाएका बखत आन्दोलनमा कवितामार्फत ऊर्जा थप्ने काम गरिरहेका समेत भेटिन्थे कति । सडकमा नै कविता वाचन गरेर आन्दोलनलाई ऊर्जा थप्दै थिए कतिपय बन्दकर्ता ।
‘नेताहरुले देशै खान लागे यहाँ, फेरि पनि संघीयता ल्याई चौबीसे राज्य बनाउन लागे यहाँ ।’ बीच बीचमा यस्तै कविताका स्लोकले पुलचोकमा भएको भीडलाई ऊर्जा प्रस्तुत गरिरहेको थियो ।
आन्दोलनको नौलोशैली देखेका एक जना नायव प्रहरी निरीक्षक भन्दै थिए, ‘हामीलाई नि आनन्द भएको छ, बन्द भनेर दिनभर तनाब हुन्थ्यो, यो बन्दमा त्यस्तो भएन ।’ उनले थपे, ‘गीत सुन्यो आनन्द लियो ।’
उनीजस्तै आन्दोलनको तरिकालाई नौलो मानेर हेर्नेहरुको भीड पनि थियो पुलचोक तथा आसपासमा । आन्दोलनकारीहरु भन्दै थिए, ‘हामी टायर बाल्दैनौं, ६०१ जना सभासद्को सद्वुद्धि पलाओस् भनेर हामीले घिउको बत्ती बालेका छौं  ।’


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी