Sunday, May 27, 2012

संविधानविनै संविधानसभा भंग, अर्को चुनाव मंसिर ७ गते


१४ जेठ, काठमाडौं । ६० वर्ष लामो सपना, दशौं अर्बको लगानी र हजारौंको रगतसँग साटिएको संविधानसभा आइतबार मध्यरात १२ बजे स्वत भंग भएको छ ।

यससँगै सरकारले दलहरुको असहमतिका बीच आगामी मंसिर ७ गते संविधानसभाको अर्को चुनाव गर्ने घोषणा गरेको छ । कांग्रेस र एमालेले निर्वाचन गर्ने निर्णय स्वीकार्य नभएको बताएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । अप्रिय हुँदा हुँदै पनि एक मात्र विकल्प भएकाले निर्वाचनमा जाने निर्णय गर्नु परेको अर्थमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठक लगतै प्रधानमन्त्रीले राष्ट्रपति डा. रामवरण यादवलाई निर्णयबारे जानकारी गराउनु भएको छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि निर्वाचन गर्ने प्रस्ताव गरेपछि एमालेसहितका दलका मन्त्रीहरुले बैठक बहिस्कार गरेका थिए । एमाले, राप्रपा, परिवार दलका मन्त्रीहरुले फेरि निर्वाचन गर्ने प्रस्तावमा असहमति जनाएका हुन् ।

यसअघि २०६४ साल चैत्र २८ गते संविधानसभाको निर्वाचन भएको थियो । निर्वाचनपछि ०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठक बसेको थियो । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद पटक पटक थपेर आइतबार जेठ १४ सम्म अर्थात ४ वर्ष पुर्‍याइएको थियो । तर, अधिकांश विषयमा सहमति जुटेपनि संघीयताबारे सहमति हुन नसकेपछि संविधानसभा असफल भएको हो ।

सर्वोच्च अदालतले जेठ १४ भित्र संविधान निर्माण गर्न र नसके अर्को निर्वाचन, जनमत संकलन लगायतका संवैधानिक विकल्प खोज्न निर्देशन दिएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी